०१ असार २०८३, सोमबार

हिजो दिनभर : ७० करोड बार्गेनिङको आरोप लागेपछि मन्त्रीबाट बाँस्कोटाको राजीनामा : गुम्यो ओलीलाई दाहिने हातको साथ !

हिजो दिनभर : ७० करोड बार्गेनिङको आरोप लागेपछि मन्त्रीबाट बाँस्कोटाको राजीनामा : गुम्यो ओलीलाई दाहिने हातको साथ !

गोकुल बाँस्कोटा प्रकरणमा ओलीले भने– रूलिङ पोजिसनमा पुर्‍याउनु लूटिङ फ्यासिलिटी दिनु होइन
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको सम्बन्धमा अलिकति पनि प्रश्न उठ्यो भने आफूले त्यस्तो व्यक्तिको अनुहार समेत नहेर्ने कुरा दोहोर्‍याएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्झौताका लागि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन डील गर्दै गरेको अडियो सार्वजनिक भएपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक 'आर्थिक सम्मृद्धि' बिहीवार बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने– 'रूलिङ पोजिसनमा पुर्‍याउनु भनेको लूटिङ फ्यासिलिटी दिएको होइन । स्वच्छता पारदर्शिताको सम्बन्धमा अलिकति मात्र पनि प्रश्न उठ्यो भने मैले पहिलेदेखि नै भन्ने गरेको छु मैले कसैको अनुहार हेरेर होइन, यो करप्सनप्रतिको जिरो टोलरेन्स (भ्रष्टाचारप्रतिको शून्य सहनशीलता) भन्ने मात्र कुरा होइन, जिरो टोलरेन्सको नीति नै लिएको छु ।'

जस्तोसुकै अप्ठ्यारो आएपनि सुशासनका निम्ति कदम चाल्न आफू नहिच्किचाउने उनको जिकिर छ । 'सुशासनका निम्ति चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन, अप्ठ्यारो त आउँछ, कठिनाइ अवश्य आउँछ ।'

कतिपयले आफूलाई प्रधानमन्त्री पद नै धरापमा पर्ला नि भन्ने गरेको भन्दै ओलीले धेरै समय शासन गर्न त प्रकृतिले नै नदिने बताए ।

'कहिलेकाहीँ मान्छेहरूले भन्छन्, तेरो प्रधानमन्त्री पद धरापमा पर्छ है यही चालले भनेर..., मलाई त्यसको चिन्ता छैन,' उनले थपे, ' मैले एउटा सिस्टम बसाउने हो । जतिसुकै सफल भएपनि प्रकृतिले लामो समय रुल (शासन) गर्न दिँदैन, धेरै समय शासनमा बस्न खोज्यो भने परिणाम राम्रो हुँदैन ।'

कमिसन रकम डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

सञ्चार मन्त्रालय अब अर्थमन्त्री युवराज खतिवडाको जिम्मेवारीमा

गोकुल बाँस्कोटाले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएकी छिन् ।

बिहीवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी दिएको हो ।

यसअघि बाँस्कोटाले सम्हालेको शहरी विकास मन्त्रालयको जिम्मेवारी भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।

विमानस्थलमा सारी लगाएर खटिए 'पर्यटन परी'

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'पर्यटन परी'ले सेवा दिने भएका छन् । 

बिहीवार एक कार्यक्रम आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुईवटा रोबोट जडान गरेको हो । ती रोबोटकाे नाम पर्यटन परी राखिएको छ ।

सारी लगाएर राखिएका ती रोबोटलाई पर्यटनमन्त्री योगेश कुमार भट्टराईले उद्घाटन गरेका छन् ।

पर्यटन परी नाम दिइएको उक्त रोवोटहरु  विमानस्थलको आगमन र प्रस्थान कक्ष गरी दुई स्थानमा रहने छन् । 

उक्त रोवोटहरूले नेपाली अङ्ग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रकृया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना लगायतका पक्षका विषयमा जानकारी गराउने बताइएको छ ।
 

राजनीतिक रंग दिएर प्रोपागान्डा गरियो, पुष्टि भए कारवाही भोग्न तयार छु– सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोप पुष्टि भए कारवाही भोग्न तयार रहेको बताएका छन् । 

बिहीवार बिहान कञ्चनपुरको पुनर्वासमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले आफूमाथि राजनीतिक रंग दिएर प्रोपागाण्डा गर्न खोजिएको आरोप लगाए ।

'जसले गल्ती गर्छ, त्यही जान्छ,' उनले भने, 'मैले कहाँबाट शुद्धताको प्रमाणपत्र लिनुपर्ने हो, लिन्छु ।'

यसैगरी आजै कञ्चनपुरको बेलडाँडीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस्ता आरोप लाग्नु ठूलो कुरा नभएको बताए ।

'आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ', उनले भने, 'सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।'

बुधवार साँझ बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोडको डील गर्दै गरेको अडियो सार्वजनिक भएको थियो ।

अडियो प्रकरणलाई नै लिएर प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको छ ।

प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न प्रचण्ड बिहान १० बजेपछि बालुवाटार पुगेका थिए ।

मन्त्रीबाट गोकुल बाँस्कोटाको राजीनामा : गुम्यो ओलीलाई दाहिने हातको साथ !

मन्त्रिमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा नजिकको र विश्वासपात्र कोही थिए भने ती हुन्, गोकुल बाँस्कोटा । 

बाँस्कोटा कतिसम्म प्रिय भने आफू बालुवाटार सरेपछि प्रधानमन्त्री ओलीले भक्तपुरको बाल्कोटस्थित निवासको साँचोसमेत उनैलाई नै सुम्पेका थिए । पुल्चोकस्थित मन्त्री निवासमा नबसेर बाँस्कोटा अहिले पनि ओलीकै निवासमा बस्दै आएका छन् ।

बाँस्कोटाप्रति ओलीको भरोसा यतिसम्म थियो कि दुई दिनअघि मात्र उनको गृहजिल्ला काभ्रे पुगेर ओलीले बाँस्कोटाको मुख हेरेपछि सरकारविरोधीहरू त्रर्सिने बताएका थिए ।

अरू बेलामा पनि ओलीले बाँस्कोटाको प्रशंसा गर्दै आएका थिए । 

हुन पनि मन्त्रिमण्डलका झण्डै २ दर्जन मन्त्रीमध्ये बाँस्कोटा एकमात्र यस्ता मन्त्री थिए, जसले बिहानदेखि बेलुकासम्म सरकारको कामको प्रतिरक्षा गरि नै रहे ।

पछिल्लो डेढ वर्षमा सबैभन्दा धेरै व्यंग्य र आलोचना पनि बाँस्कोटाकै भयो, तर उनले सरकारको प्रतिरक्षा गर्न छाड्नेन् ।

बुधवार मध्यरातिदेखि एउटा अपत्यारिलो जस्तो लाग्ने खबरले नेपालको राजनीतिलाई तरंगित बनायो– 'मन्त्री बाँस्कोटाले ७० करोडको बार्गेनिङ गरे ।'

‘लाचार’ बनेको आरोप लागिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गज्जबको मसला पायो ।

बिहान १० बजे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँस्कोटालाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै विज्ञप्ति प्रकाशित गरे । उनले मध्याह्न साढे १२ बजे पत्रकार सम्मेलन गरेर बस्खास्तगीको माग दोहोर्‍याए । 

दिउँसो १ बजे बाँस्कोटालाई मन्त्रीबाट बर्खास्त गर्न, ७० करोड बार्गेनिङ काण्डको छानबिन र सदनमा प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्‍यो ।

१ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दुई घण्टापछि बस्यो, जहाँ कांग्रेसले त्यही ३ वटा माग राखेर बैठक अवरुद्ध गर्‍यो । नेपाली कांग्रेसले यो विषयलाई उचाल्न खोजेको नेकपाको आरोप छ । 

कांग्रेसका सांसदले विरोध जनाइरहेको समयमा सभामुख अग्नि सापकोटाले सम्बन्धित मन्त्रीले राजीनामा गरेको अनैपचारिक जानकारी आएको घोषणा गरे । 

त्यसको केहीबेरमा मन्त्री बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएको जानकारी समाजिक सञ्जाल ट्विटरमार्फत दिए ।

बिहीवार नै संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी पिन्टिङ प्रेस खरिदसम्बन्धी प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ । 

गोकुलको खरो स्वभाव : कसैलाई चिड्यायो, कसैलाई हौस्यायो !

सरकारको प्रतिरक्षा गर्ने क्रममा गोकुलले कहिलेकाहीँ प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भित्तामा पुर्‍याए भने कहिले पार्टीभित्रकै नेताहरूसँग जुहारी पर्‍यो ।

पछिल्लो समय नेता भीम रावलसँग उनको जुहारी परेको थियो, छाउपडी प्रकरणमा । 

‘प्रवक्ताको हैसियतमा उहाँले सरकारको भरमग्दुर बचाउको प्रयत्न गर्नुभयो, यो प्रवक्ताको मुख्य जिम्मेवारी थियो,’ प्रधानमन्त्री ओली निकट नेकपाका एक सांसदले लोकान्तरसँग भने, ‘उहाँको शैली कसैलाई मन पर्‍यो, कसैलाई परेन होला ।’ 

प्रधानमन्त्री ओलीसँग निकट रहेर राजनीति गरेका कारण बाँस्कोटाले पहिलोपटक निर्वाचित भएर आउनेबित्तिकै महत्त्वपूर्ण जिम्मेवारी पाएका थिए । 

समाजवादी पार्टीले छाडेको र काठमाडौंबाट दुईपटक प्रत्यक्ष निर्वाचित राज्यमन्त्री रहँदारहँदै पनि ओलीले बाँस्कोटालाई नै शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए ।

बाँस्कोटाको राजीनामासँगै सञ्चार मन्त्रालयमा को आउला भन्ने उत्सुकता बढेको देखिन्छ । दुई मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।

छोटो समयमा उदाएर छिट्टै बिदा 

बाँस्कोटामाथि लागेको ७० करोड बार्गेनिङको आरोपको बारेमा स्वतन्त्र छानबिन होला/नहोला तर उनले नैतिकताको आधारमा राजीनामा दिएका छन् ।

छोटो समयमा उच्च ओहोदामा पुगेका बाँस्कोटाको कमिसन प्रकरणका कारण सम्मानजनक बहिर्गमन हुन पाएन ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे २ बाट प्रत्यक्ष निर्वाचित बाँस्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैत २ गते सञ्चार राज्यमन्त्री नियुक्त गरेका थिए । 

बाँस्कोटा ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ६९ मत पाएका थिए ।

केही समय राज्यमन्त्रीको रूपमा काम गरेपछि २०७५ जेठमा बाँस्कोटा मन्त्रीमा बढुवा भएका थिए ।

सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएपछि बाँस्कोटाले साप्ताहिकरूपमा बिहीवार सरकारका निर्णय सार्वजनिक गर्दै आइरहेका थिए ।

लामो समय पत्रकारिता गरेका र खरो स्वभावका बाँस्कोटाले सरकारको प्रवक्ताको हैसियतमा चर्चा कमाएका थिए । 

२०२७ साल भदौ १३ गते काभ्रेको मण्डनदेउपुरमा जन्मेका बाँस्कोटा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौ महाधिवेशनबाट विद्यार्थी राजनीतिमा होमिएका थिए ।

रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक गरेका बाँस्कोटा राजनीतिसँगै दुई दशकसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रहे ।

छलफल, दृष्टि र प्रकाश साप्ताहिकमा काम गरेका बाँस्कोटाले पछि आफैं सम्बोधन साप्ताहिक प्रकाशन गरेका थिए ।

मन्त्री बन्नुभन्दा अघिसम्म उनी सो पत्रिकाको प्रकाशक/सम्पादक थिए ।

तत्कालीन नेकपा एमालेनिकट पत्रकार संगठन प्रेस चौतारीको अवधारणाकार र संस्थापक समेत रहेका बाँस्कोटा नेपाल पत्रकार महासंघको सचिवको उम्मेदवार समेत बनेका थिए । 

गोकुल बाँस्कोटाले भने – नैतिकताको आधारमा राजीनामा दिएँ
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै बाँस्कोटाले आफ्नो बारेमा प्रश्न उठेपछि पदबाट राजीनामा दिएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद !’

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद प्रक्रियाका क्रममा ७० करोड घूस बार्गेनिङ गरेको भिडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटा विवादमा परेका थिए ।

७० करोड बार्गेनिङको आरोप लागेपछि मन्त्री बाँस्कोटाले दिए राजीनामा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन बार्गेनिङ गरेको आरोप लागेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । 

बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा गरेको जानकारी गराएका हुन् । 

‘माननीय सदस्यहरू विषय प्रवेश भइसकेको छ, औपचारिक पत्र त आउने नै छ, मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ । सरकारको ध्यानाकर्षण पनि भइसकेको छ,’ संसद अवरुद्ध गर्न लागेका कांग्रेस सांसदलाई सभामुख सापकोटाले भने । 

त्यसअघि बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गरिएको बार्गेनिङबारे मन्त्रीले राजीनामा गरेर मात्र नपुग्ने भन्दै प्रधानमन्त्री ओलीको जवाफ र निष्पक्ष छानबिनको माग गरेकी थिइन् । 

कांग्रेसको विरोधपछि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक फागुन १३ गतेसम्मको लागि स्थगित गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्