
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लामो समय सँगै रहेका सल्लाहकार रोजर स्टोनलाई ४० महिनाको जेल सजाय सुनाइएको छ ।
६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा सातपटक झुट बोलेको, काममा बाधा पुर्याएको र साक्षीलाई गुमराहमा राखेको आरोपमा दोषी पाइएको थियो ।
बिहीवार एक अमेरिकी अदालतमा भएको सुनुवाईमा स्टोनलाई दोषी पाइएको हो ।
स्टोन ट्रम्पका छैठौं सहयोगी हुन्, जसलाई रोबर्ट मुलरको जाँचमा दोषी पाइएको छ । रोबर्ट मुलरको जाँच २०१६ मा अमेरिकी राष्ट्रपति चुनाव अभियानमा ट्रम्प र रूसबीच कथित मिलिभगतसँग जोडिएको छ ।
आफ्ना सहयोगी दोषी ठहरिएपछि ट्रम्पले उनलाई माफी दिन सक्ने बताइएको छ । स्टोनले भने आफूलाई राजनीतिक षड्यन्त्रको शिकार बनाइएको दाबी गरेका छन् ।