
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जका लागि उड्नै लागेको जहाज रनवेमै बिग्रिएको छ ।
विमानभित्र सबै यात्रु बसिसकेपछि एयर होस्टेजले यात्रा प्रारम्भ हुने सूचना दिइसकेपछि श्रीएयरको विमान बिग्रिएको हो ।
बिहान साढे ८ बजेका लागि उडान तय भएको जहाज बिग्रिएपछि यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । शुरूमा १०–१५ मिनेट भनेर यात्रुलाई अल्झाएपनि अहिले १ घण्टा पर्खिनुपर्ने जानकारी आएको यात्रु जीवन रोकाले लोकान्तरलाई जानकारी दिए ।
विमानले उडान प्रारम्भ गर्नुअघि नै प्राविधिक चेकजाँच भएर मात्रै उडान अनुमति पाउने भएपनि उड्नै लागेको विमान बिग्रिएका कारण यात्रुले प्राविधिक चेकजाँचमा लापरवाही भएको हुनसक्ने आंशका गरेका छन् ।
‘रनवेमै विमानमा समस्या देखिएकाले कुनै क्षति भएन,’ यात्रु रोकाले भने, ‘आकाशमै विमान उडिरहेको बेला बिग्रिएको भए ठूलो क्षति हुन सक्थ्यो । विमानस्थलमा प्राविधिक पक्ष कमजोर रहेको अनुमान गर्न सकिन्छ ।’
विमानमा समस्या आउनुको प्राविधिक कारण र लापरवाहीबारे बुझ्न विमानस्थल र श्रीएयरलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।