१५ असार २०८३, सोमबार

मूर्तरूप नलिँदै नेकपा कार्यदल विवादमा, कोटेश्वर र धुम्बाराहीमा छुट्टाछुट्टै छलफल

फागुन १२, २०७६
मूर्तरूप नलिँदै नेकपा कार्यदल विवादमा, कोटेश्वर र धुम्बाराहीमा छुट्टाछुट्टै छलफल
फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको संविधान संशोधनबारे सहमति जुटाउन गठित कार्यदल मूर्त रूप नपाउँदै विवादमा परेको छ ।

शनिवार बसेको नेकपा सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वसांसद एवं अधिवक्ता खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदल संयोजक नेता नेपालले सदस्यद्वय नेम्वाङ र देवकोटालाई छलफलका लागि भन्दै सोमवार बिहान आफ्नो निवास कोटेश्वरमा बोलाएका थिए । छलफलमा आफूहरुसँग परामर्श नै नगरी कार्यदलमा राखिएको भन्दै नेम्वाङ र देवकोटा दुवैले असन्तुष्टि जनाए ।

‘माधव कमरेडले केही कुरा गर्नुछ भनेर बोलाउनु भएकोले गएको थिएँ, कार्यदल गठनबारे मिडियामा आएको मैले पनि पढें, कार्यदल गठन गरेको कुरा अहिलेसम्म कसैले भन्नुभएको छैन,’ नेम्वाङले लोकान्तरसँग भने ।

बिहान भएको छलफलमा नेम्वाङले संविधान संशोधन लहडमा होइन औचित्यको आधारमा गर्नुपर्ने धारणा आफूले राखेको बताए । ‘यो एकदम गलत भयो, जिम्मेवार पार्टीले यस्तो गैरजिम्मेवार निर्णय गरे होला भन्ने लागेको छैन,’ नेम्वाङले भने ।

उनको भनाइमा देवकोटाले पनि समर्थन जनाए । ‘अस्ति केन्द्रीय कमिटी बैठकमा भएको छलफलअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउनको लागि संविधान संशोधनको कुरा आउनुपर्नेमा अनावश्यक विषय प्रवेश गराउन खोजेको देखियो, यसमा सहमत हुन सकिँदैन,’ छलफलमा देवकोटाले आफ्नो मत सुनाए ।

दुवैको कुरा सुनेपछि नेता नेपालले यसबारेमा पार्टीमा छलफल गरिने बताए । ‘प्रतिनिधि सभाबाट निर्वाचित प्रधानमन्त्री फेल भएको निष्कर्षसहित अब राष्ट्रिय सभावाट प्रधानमन्त्री चयन गर्ने ?’ नेम्वाङले प्रश्न गर्दा नेता नेपालले टाउको हल्लाएका थिए ।

धुम्बाराहीमा छुट्टै छलफल

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव पौडेलबीच सोमवार अपराह्न पार्टी केन्द्रीय कार्यालयमा छुट्टै बैठक बसेको थियो । बैठकमा नेता नेपालले कार्यदलका सदस्यसँग भएको छलफलबारे बैठकमा ब्रिफिङ ।

‘नेम्वाङ र देवकोटाले कार्यदलमा बस्न आनाकानी गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो,’ नेकपा स्रोतले भन्यो ।

बैठकमा मधेस केन्द्रित दलहरूलाई समेत सहमत गराएर संविधान संशोधनमा अगाडि बढ्ने विषयमा छलफल भएको स्रोतले बतायो ।  

सोमवार बिहान बालुवाटारमा यिनै समसामयीक विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो । छलफलपछि प्रधानमन्त्री ओली अगुवा कार्यकर्ता प्रशिक्षणमा भाग लिन पोखरा गए भने काठमाडौँमा अध्यक्ष प्रचण्ड र नेता नेपालले समसामयीक राजनीतिमा देखिएको घटनाक्रमका बारेमा छलफल गर्न अगुवाई गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्