
समाजवादी पार्टी नेपालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ मोलमोलाइ गरेकोबारे संसदीय छानबिनको माग गरेको छ ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर समाजवादी पार्टीकी सरिता गिरीले योजनाबद्ध भ्रष्टाचारको योजना रहेकाले यसबारे संसदीय छानबिनको माग गरेकी हुन् ।
गिरीले प्रेस खरिदका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने बताइन् । उनले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रममा उपभोक्ता समितिको नाममा पनि भ्रष्टाचार हुन लागेको टिप्पणी गरिन् ।
संसदप्रति जनताको विश्वास राख्नको लागि पछिल्ला प्रकरणबारे एक संसदीय छानबिन समिति गठन गर्न उनले माग गरिन् । त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मीनेन्द्र रिजालले ७० करोड सम्बन्धमा सदनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।
राजपाका प्रमोद यादवले पनि ७० करोड मोलमोलाइमा प्रधानमन्त्री ओलीमाथि समेत प्रश्न उठेकाले सदनमा आएर जवाफ दिन माग गरे ।