१९ असार २०८३, शुक्रबार

सुदूरपश्चिममा सरदर ३ दिनमा सवारी दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

फागुन १३, २०७६
सुदूरपश्चिममा सरदर ३ दिनमा सवारी दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
फाइल फोटो

सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको क्रम डरलाग्दो छ । 

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाको पछिल्लो ३ वर्षको तथ्यांकले सुदूरपश्चिममा सवारी दुर्घटनाको डरलाग्दो अवस्था चित्रण गरेको हो ।

तथ्यांक अनुसार सरदर ३ दिनमा १ जनाको मृत्यु हुने र २ जना घाइते हुने गरेको पाइएको छ ।

आव २०७३/२०७४ मा मात्रै १८४ वटा सवारी दुर्घटना भएको थियो । जसमा परेर १४७ जनाको ज्यान गएको थियो भने १४१ जना घाइते भएका थिए ।

आव २०७४/२०७५ मा १६४ वटा सवारी दुर्घटना भएको थियो । जसमा मृत्यु हुनेको संख्या ९६ जना र घाइते हुनेको संख्या २०५ थियो भने आव २०७५/२०७६ मा सवारी दुर्घटना अझ बढेको देखिन्छ । २३४ वटा सवारी दुर्घटनामा १२५ जनाको मृत्यु भएको थियो भने घाइतेको संख्या २२५ जना थियो ।

चालू आर्थिक वर्षमा पनि सवारी दुुर्घटना न्यूनीकरणको संकेत देखिएको छैन । साउनदेखि यता माघसम्ममा ८७ वटा सवारी दुर्घटना घटेका छन् । जसमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने ३२ जना घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

मोटरसाइकल दुुर्घटना टाउको दुखाइ

सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधनमध्ये मोटरसाइकल परेको छ । चालू आर्थिक वर्षको ७ महिनामा मात्रै ६४ पटक मोटरसाइकल दुर्घटना भएको छ । सबैभन्दा बढी दुर्घटना हुने जिल्लामा कैलाली हो ।

प्रदेश राजधानी हुनुको साथै सवारी चाप पनि बढी हुने जिल्लामा कैलाली पर्छ । खासगरी उच्च गति, हेलमेटको प्रयोग नगरिनुलगायत असावधानीले गर्दा मोटरसाइकल दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

अन्य प्रदेशको तुलनामा भने दुर्घटना कम रहेको तथा सवारी दुर्घटना न्यूनीकरणमा सुधार हुँदै गएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक लोकन्द्र श्रेष्ठ बताउँछन् । पछिल्ला वर्षमा सवारी चाप अत्याधिक बढेको बताउँदै उनले त्यसको अनुपातमा सवारी दुर्घटनामा कमी आएको दाबी गरे ।

समय–समयमा गरिने ट्राफिक सचेतना कार्यक्रम र गरिएको कडाइले गर्दा कमी आएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । नियममा गरिएको कडाइले राजस्व संकलनमा वृद्धि भएको छ । चालू आवको माघसम्ममा मात्रै २ करोड ५३ लाख ४४ हजार राजस्व संकलन भएको जनाइएको छ ।

गत आव २०७५/२०७६ मा ४२ हजार ७४५ जना कारवाहीमा परेका थिए । जसमध्ये ७०२ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा कारवाहीमा परेका थिए । उनीहरूबाट मात्रै ७० हजार २ हजार जरिवाना असुल गरिएको प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन् ।

प्रहरीको ‘३ एम’ सूत्र

सवारीसाधन दुर्घटना न्यूनीकरणको लागि ट्राफिकले ३ एम (म्यान, मशिन र मटेरियल) को संयोजन महत्त्वपूर्ण रहेको जनाएको छ । सवारीसाधनको अवस्था, सवारी हाँक्ने मानिस, सडकको अवस्था कस्तो भन्नेमा निर्भर रहने प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठ भन्छन्, ‘कुुनै पनि व्यक्ति सवारीको चालक मात्रै हुुँदैन, यात्रु पनि हो । उसले आफ्नो यात्रा सुरक्षित गर्नलाई सवारी कुन अवस्थामा छ ? सडकको अवस्था कस्तो छ ? ग्राभेल कस्तो छ ? विद्यालय छ कि जंगल छ ? ध्यान दिनुपर्छ । यी कुराहरू मात्रै ध्यान दिएको अवस्थामा धेरै हदसम्म दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’

डमी ट्राफिक र प्रहरीको नारा

पछिल्लो समय दुुर्घटना न्यूनीकरणको लागि भन्दै प्रहरीले डमी ट्राफिक राख्ने कार्यक्रम गर्दै आएको छ । जसबाट धेरै हदसम्म सवारी दुर्घटनामा न्यूनीकरण भएको प्रहरीको दाबी छ । प्रदेश ट्राफिक कार्यालयले कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र कैलालीकै त्रिनगर नाकादेखि प्रदेशका सम्पूर्ण पहाडी जिल्लाका सडकको मुख्य–मुख्य स्थानमा डमी ट्राफिक प्रहरी राखेको जनाएको छ । सवारी चालकमा मनोवैज्ञानिक रुपमा प्रभाव पारेर दुर्घटना न्यूनीकरणमा टेवा पुगेको जनाइएको छ ।

प्रहरीले सार्वजनिक स्थल, विद्यालयमा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । प्रहरी उपरीक्षक श्रेष्ठले जनहितमा जारी सन्देश सुनाए –

जनहीतमा जारी
ट्राफिक प्रहरीको नारा
सवारी नियमको पालना गरौं
सुरक्षित बनौं सारा ।

आजको आवश्यकता
सुरक्षित यात्राको बनोट
दुर्घटना न्यूनीकरण
ट्राफिक प्रहरीको अठोट ।।

तीव्रगति जीवन क्षति
ध्रुव सत्य कुरा
समयमा ध्यान नदिए
जीवन हुन्न पूरा ।

ढिलो गए अवश्य पुगिन्छ
छिटो गए भन्न सकिन्न
ट्राफिक प्रहरीलाई छल्न सके नि
प्राकृतिलाई छल्न सकिन्न ।।

सवारी नियमको पालना गरौं
नगरौं दुर्घटनाको सामना
सबैको गन्तव्य सुरक्षित होस्
यही छ हाम्रो शुभकामना !

salt training

कमेन्ट गर्नुहोस्