हलिउडमा महिला कलाकारहरूको यौन शोषण गरेको आरोपमा दोषी ठहर गरिएका फिल्म निर्माता हार्भे विन्सटाइनलाई न्युयोर्कको कुख्यात राइकर्स कारागार पठाइएको छ ।
जेल जानुअघि उनले महंगो कफी र मिनरल वाटर पिउँदै आफ्ना वकिलहरूसँग फोर सीजन्स होटलमा कुराकानी गरेका थिए ।
एक महिलालाई बलात्कार गरेको र अर्कीमाथि यौन आक्रमण गरेकोमा जुरीले उनलाई दोषी ठहर गरेपछि पूर्ण सजाय नपाउन्जेलका लागि उनलाई कारागार पठाइएको हो ।
पछि उनलाई म्यानह्याटनको बेल्लेभ्यु अस्पताल लगिएको थियो र कैदीहरूलाई उपचार गर्ने विशेष सेलमा राखिएको थियो । तर उनलाई फेरि राइकर्स लगिने उनका प्रवक्ता जुडा एंगेलमायरले बताए ।
विन्सटाइनले आफूलाई छातीमा पीडा भएको बताएको केही पत्रिकाले लेखे ।
विन्सटाइनलाई सजाय नदिइसकेकाले कालो जम्पसुट लगाउने सम्भावना छ । उनको मुद्दाको सुनुवाइ मार्च ११ मा गरिनेछ । सजाय दिइएका कैदीले हरियो लुगा लगाउँछन् ।
विन्सटाइनले प्रोडक्सन असिस्टेन्ट मिमी हालेयीलाई सन् २००६ मा यौन आक्रमण गरेको र अभिनेत्री जेसिका मानलाई सन् २०१३ मा बलात्कार गरेकोमा जुरीले दोषी ठहर गरेको हो । त्यससँगै उनको बेल रद्द गरिएको थियो र हत्कडी लगाइएको थियो । तर विन्सटाइनले आफू निर्दोष रहेको बताउँदै आएका छन् र पुनरावेदन गरिरहने सम्भावना छ ।