१० असार २०८३, बुधबार

दक्षिण कोरियामा कोरोना फैलिएपछि नेपालीलार्ई उद्धार गर्न सांसदको माग

फागुन १३, २०७६
दक्षिण कोरियामा कोरोना फैलिएपछि नेपालीलार्ई उद्धार गर्न सांसदको माग

नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापी रुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारे यथार्थ जानकारी गराउन सांसदले माग गरेका छन् ।

नेकपाका धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गरिन् । उनले भाइरस फैलिन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्नेमा पनि जोड दिइन् ।

सोही दलका दीपकप्रकाश भट्टले  सुदूरपश्चिम प्रदेशको सहज व्यापारका लागि मार्गप्रशस्त गर्ने गरी नाका  विस्तार गर्न माग गरे । नेकपाकै नवराज सिलवालले महिला हिंसाको घटना एवं महिला तथा बालबालिकामाथि तेजाब प्रहारको घटनामा वृद्धि भएको जनाउँदै नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले खुला रुपमा तेजाब बिक्रीवितरण भइरहेकाले तत्काल नियमन गर्नुपर्नेमा पनि जोड दिए ।

नेपाली कांग्रेसकी पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो गरिन् । उनले रोगको पहिचान र  क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ किन तदारुकता नदेखाइएको भनी प्रश्न गरिन् ।

सांसद भुसालले पछिल्ला दिनमा कोरियामा समेत कोरोना भाइरसको संक्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सोही दलकी डिला संग्रौलाले देशका अधिकांश विश्वविद्यालयमा पदाधिकारी नहुँदा अस्तव्यस्त भएकाले तत्काल पदाधिकारी नियुक्तिका लागि सरकारसँग माग गरिन् । कांग्रेसकै दिव्यमणि राजभण्डारीले ई–पासपोर्ट तथा अन्तःशुल्क स्टिकर छपाइमा भइरहेको ढिलाइ र  ‘जीटूजी’का माध्यमबाट खरीद गर्न खोजिएकाले त्यसमा अनियमितताको आशंका गरे ।

salt training

कमेन्ट गर्नुहोस्