२८ असार २०८३, आइतबार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध मुद्दा

असार ४, २०८३
काठमाडौं
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध मुद्दा

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्यरत रामकुमार बोहराविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

आयोगका अनुसार बोहराले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनले २०६९ मंसिर १ गतेदेखि लागू हुने गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा राजपत्र अनंकित तृतीय श्रेणी सरहको स्थायी रंगमञ्च सहायक पद प्राप्त गर्न झुट्टा शैक्षिक विवरण पेस गरेको पुष्टि भएको छ ।

अनुसन्धानका क्रममा उनले तरुण माध्यमिक विद्यालय, बालाजुबाट जारी भएको भन्दै कक्षा १० को मार्कसिट, ट्रान्सफर सर्टिफिकेट लगायतका शैक्षिक योग्यतासम्बन्धी झुट्टा विवरण तथा नक्कली प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ ।

उक्त प्रमाणपत्रका आधारमा रंगमञ्च सहायक पदमा नियुक्त भई उनले पद, लाभ तथा सुविधा समेत लिइरहेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।

आयोगले बोहराको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर ठहर गर्दै सोही दफाअनुसार कैद र जरिवाना सजायको मागसहित बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेशन न्यौपानेले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्