
प्रतिनिधिसभा बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सभामुख अग्नि सापकोटाले बैंक तथा वित्तिय संस्था सम्बन्धी विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा आवश्यक संख्या अपुग भएको हो ।
संविधानको धारा ९४ अनुसार कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा संसदमा कायम रहेका एकचौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । मंगलवार अपराह्न ४ बजेको समयमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गर्दा गणपुरक संख्या नपुगेपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
सभामुखले प्रस्तावलाई निर्णयार्थ पेश गर्ने क्रममा कांग्रेस सांसद अत्तर कमाल मुसलवानले गणपुरक संख्या गन्न माग गरेका थिए । त्यसपछि सभामुखको आसनमा बसेर बैठकको अध्यक्षता गरेका सोमप्रसाद पाण्डेले ३ मिनेट घण्टी बजाउन निर्देशन दिएका थिए ।
३ मिनेट घण्टी बजाएर संख्या गन्दा ६९ हुनुपर्नेमा ५८ सांसद मात्र उपस्थित थिए । त्यसअघि मंगलवारै सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई निर्णयार्थ पेश गर्ने क्रममा पनि गणपुरक संख्या गन्न माग गर्दा ७० सांसद उपस्थित थिए ।