०३ साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

मुख्यसचिवमा कार्की नियुक्तसहित यस्ता छन् मुख्यमुख्य समाचार

असार २५, २०८३
काठमाडौं
मुख्यसचिवमा कार्की नियुक्तसहित यस्ता छन् मुख्यमुख्य समाचार

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बुधबार गोविन्दबहादुर कार्कीलाई मुलुकको सर्वोच्च प्रशासनिक पद मुख्यसचिवमा नियुक्त गरेको छ । 

भोजपुरको सामान्य परिवारमा जन्मिएर निजामती सेवाको सर्वोच्च ओहोदासम्म पुगेका नवनियुक्त मुख्यसचिव कार्कीको ३६ वर्ष लामो निजामती यात्रा निकै उतारचढावपूर्ण र प्रेरणादायी रहेको देखिन्छ ।

सचिव बनेको १ वर्ष १० महिना ४ दिन पुग्दा बुधबार (२४ असार २०८३) गते उनी  नेपाल सरकारको सर्वोच्च प्रशासनिक ओहोदा मुख्यसचिवमा नियुक्त भएका हुन् । 

हालसम्म उनको निजामती सेवाको कूल अवधि ३६ वर्ष ९ महिना २३ दिन पुगेको छ भने उमेर हदका कारण उनको अनुमानित अनिवार्य अवकाशको मिति २०८५ साल पुस २५ गते रहेको छ । 

यस हिसाबले नवनियुक्त मुख्य सचिव कार्कीले झन्डै साढे दुई वर्षको अवधिसम्म नेपालको समग्र निजामती प्रशासनको उच्च नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।
००००
प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका लागि गठित समितिले सभामुखसमक्ष बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिइएको छ ।

सङ्घीय संसद् सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई जानकारी गराइएको थियो । त्यसपछि जेठ १८ गते बसेको प्रतिनिधिसभा बैठकले उक्त विषयमा थप अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।
००००
सरकारले विदेशी सम्बन्धनमा सञ्चालित कलेजको गुणस्तर सुधार र नियमन कडा बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नियमावलीअनुसार अब नेपालमा सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयभित्र परेको हुनुपर्नेछ।

नियमावलीले सम्बन्धित कलेजले क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (क्यूएए) का दुई चरण पूरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ। कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता र जनशक्तिका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गरिनेछ।
००००
नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसीसी यू–१९ वुमेन्स प्रिमियर कप २०२६ का लागि १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।

क्यानले बुधबार सोनी पाख्रिनको कप्तानीमा टोली सार्वजनिक गरेको हो। प्रतियोगिता जुलाई ११ देखि मलेसियामा सुरु हुँदैछ।
००००
राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ ।

विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार २५ र २६ गते (तदनुसार जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सेवा बन्द रहनेछ ।
००००
सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतले बुधबार पौडेललाई अनुसन्धान प्रयोजनका लागि चौथो पटक ५ दिन म्याद थप गरेको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ ।
००००
एम्नेस्टी इन्टरनेशनल नेपालले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूमाथि भइरहेको ज्यादती बन्द गर्न आग्रह गरेको छ ।
बुधबार विज्ञप्तिमा जारी गर्दै एम्नेस्टी इन्टरनेशनल नेपालले सरकारलाई व्यवस्थापन र पुनःस्थापनाको आफ्नो वाचा पूरा गर्न आग्रह गरेको हो ।
००००
प्रतिनिधिसभाको बुधबार दिउँसो १५ मिनेटका लागि  स्थगित भएको बैठक बिहीबारका लागि सरेको छ ।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै संसद् सचिवालयले सूचना टाँस गरेर जानकारी गराएको छ ।
००००
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निजी क्षेत्रलाई 'ड्राइभिङ सिट'मा राखेर अर्थतन्त्रलाई अगाडि बढाउने बताएका छन् ।
बुधबार निजी क्षेत्रको छाता संगठनका प्रतिनिधिहरूसँग औपचारिक छलफल गर्दै प्रधानमन्त्री बालेनले निजी क्षेत्रलाई 'ड्राइभिङ सिट'मा राखेर अर्थतन्त्रलाई अगाडि बढाउने बताएका हुन् ।
००००
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले झ्याप्प–झ्याप्प बत्ती जाने समस्या प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। 

उनले प्राधिकरणलाई लामो समयसम्म नेतृत्वविहीन राखेर समस्याको समाधान नहुने भन्दै सरकारको आलोचना गरेका छन्।
००००
नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

चुनदेवीमा नयाँ सम्पर्क कार्यालय उद्घाटनपछि बसेको देउवा समूहको बैठकले पार्टीलाई आपसी सहमतिबाट अगाडि बढाउन लचिलो हुने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्