२३ असार २०८३, मंगलबार

नेपाल ट्रस्टको जग्गा गण्डकी प्रदेश मातहत ल्याउन कार्यदल

फागुन १४, २०७६
नेपाल ट्रस्टको जग्गा गण्डकी प्रदेश मातहत ल्याउन कार्यदल

गण्डकी प्रदेश सरकारले नेपाल ट्रस्टका नाममा रहेका पोखरा क्षेत्रका जग्गा तथा भौतिक संरचना प्रदेश सरकार मातहत ल्याउने प्रयास थालेको छ ।

त्यसको सम्भाव्यता अध्ययन थाल्न समिति गठन गरिएको छ । 

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले मन्त्रिपरिषद्ले पोखरामा रहेका नेपाल ट्रस्टको नामका जग्गा र भौतिक संरचना प्रदेश मातहतमा ल्याउन संघीय सरकारसँग माग गर्ने निर्णय बमोजिम अध्ययन समिति गठन गरेको जानकारी दिए ।

प्रवक्ता बस्नेतका अनुसार सोको अध्ययन गरी प्रतिवेदन पेश गर्न प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । समिति सदस्यमा गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता डा. राजेन्द्र घिमिरे, मुख्यमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, गोरखा जिल्ला गण्डकी गाउँपालिकाका डा. धु्रव रेग्मी, पर्यटनविद् जुद्धबहादुर गुरुङ र सदस्य सचिवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यामप्रसाद पोखरेल समेत गरी ६ सदस्यीय समिति गठन गरिएको छ ।

समितिले ट्रस्टको नाममा रहेका पोखरा क्षेत्रभित्रका सबै जग्गा, सम्पत्ति तथा भवन खोजी गरी प्रदेशको नाममा ल्याउन सक्ने गरी प्रतिवेदन पेश गर्नेछन् ।

गठित समितिले तयार पार्ने प्रतिवेदन आधारमा प्रदेश सरकारले संघीय सरकारसँग ती जग्गा तथा भौतिक संरचना प्रदेश मातहत ल्याउने गरी माग गर्ने मन्त्री बस्नेतले जनाए । हिमागृह र रत्न मन्दिरलाई थप व्यवस्थापनसहित सञ्चालन गर्न के गर्न सकिन्छ भन्नेबारे समितिले आफ्नो सुझाव दिनेछ ।

मन्त्री बस्नेतले समेत हिमागृह र रत्न मन्दिरलाई थप पर्यटकीय आकर्षणको केन्द्र बनाउन संग्रहालय, बगैंचा वा पुस्तकालय के बनाउन सकिन्छ, सोबारे जनतासँग सल्लाह लिएरै अघि बढ्ने जानकारी दिए ।

नेपाल ट्रस्टका अध्यक्ष समेत रहेका संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले मंगलवार जारी गरेको श्वेतपत्रमा समेत पोखरा क्षेत्रमा ट्रस्टको नाममा हिमागृह र रत्न मन्दिरसहित ७४ रोपनी जग्गा रहेको उल्लेख छ । 

प्यागोडा शैलीमा बनाइएको हिमागृह दरबारको भित्री संरचना ढुंगामा कुँदिएका आकर्षक कलाले सजित छ । पूर्व राजा महेन्द्रले तालपारीको रानीवनको संरक्षण समेतको लक्ष्य राखी २०१३ सालमा जग्गा किनेर ३ वर्षपछि रानी रत्नको नाममा दरबार निर्माण गरेका थिए । रत्न मन्दिर परिसरको अभिन्न भू–भागका रुपमा रहिआएको हिमागृह करीब १० रोपनी क्षेत्रफलमा फैलिएको छ । सो हाल नेपाल ट्रस्ट ऐन बमोजिम नेपाल ट्रस्टको कार्यालयको नाममा सोही कार्यालयले रेखदेख तथा व्यवस्थापन गरिरहेको छ ।

पोखराका पर्यटन व्यवसायी अग्नि कँडेलले सार्वजनिक सम्पत्ति संरक्षण गर्न नसकिए विपत्ति आउँदा अप्ठ्यारो पर्ने भएकाले सार्वजनिक सम्पत्ति जोगाउनु सबैको दायित्व भएको बताए ।

नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेलले रत्न मन्दिरसँगै हिमागृहलाई पनि सशुल्क रुपमा सर्वसाधारणका लागि खुला गरिनुपर्ने मत राख्दै आएका छन् । लामो समयदेखि आफूहरूले भाडा प्रकरण रोक्नुपर्नेमा खबरदारी गर्दै आएको उनले स्मरण गरे ।

salt training

कमेन्ट गर्नुहोस्