
पोखरामा शनिबार सम्पन्न ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ।
क्रस कन्ट्री विधाअन्तर्गत ४७ दशमलव आठ किमी दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरी ५४ अङ्कसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो। नेपाली टोलीमा युकेश गुरुङ, विशाल थापा, विजय गौतम र शेरबहादुर गुरुङ रहेका थिए। त्यसैगरी कोरियाले ४८ अङ्कसहित द्धितीय र ४५ अङ्क ल्याएर जर्मनीको टोली तेस्रो भएको छ ।
पुरुष एकलतर्फको उपाधि भने कोरियाले जितेको छ । कोरियाका जङमेन चोइले दुई हजार २२० अङ्कसहित उपाधि जित्नुभयो भने नेपालका विशाल थापाले दुई हजार १४७ अङ्कसहित द्वितीय तथा कोरियाका चियोङ हाले दुई हजार १३० अङ्कसहित तेस्रो हुन सफल भए।
महिला एकलतर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिकले उपाधि जित्दा कोरियाका याना ली द्वितीय तथा स्वीटजरल्याण्डका सुसन स्टोफर तेस्रो भएका छन्। नेपाल खुला १९औँ च्याम्पियनसीपअन्तर्गत विशाल थापाले उपाधि जित्न सफल भए। विजय गौतम द्वितीय र आशिष थापा तेस्रो हुन सफल भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। सुरज थापा चौथो र युकेश गुरुङ पाँचौँ स्थानमा रहेका थिए।