०७ असार २०८३, आइतबार

कोरोना क्वारेन्टाइन - १ जनाको मात्रै रिपोर्ट पोजिटिभ आए सबै थप १४ दिन नै बस्नुपर्ने

फागुन १८, २०७६
कोरोना क्वारेन्टाइन - १ जनाको मात्रै रिपोर्ट पोजिटिभ आए सबै थप १४ दिन नै बस्नुपर्ने

कोरोनाको उद्गमस्थल चीनको वुहानबाट उद्दार गरी भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका एक सय ७५ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमवार घर जान पाउने भएका छन् ।

उनीहरूको शनिवार नमूना संकलन गरिएको छ । सोमवार बिहानसम्म रिपोर्ट आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

तर, एकजनाको मात्रै रिपोर्ट पोजिटिभ आए कोही पनि घर फर्किन पाउने छैनन् । संक्रमितलाई सिधै अस्पताल लगिनेछ भने अन्यलाई फेरि १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ । 'संकलित नमूना शनिवार नै राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु लागिएको छ, तर आइतवार नै सबैको रिपोर्ट आउने सम्भावना कम छ,' स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले नयाँ पत्रिकासँग भने, 'सबैको रिपोर्ट नेगेटिभ आए सोमवारसम्म घर पठाइनेछ ।'

४ फागुनमा उद्दार गरिएका उनीहरूको पहिलो नमूना परीक्षण सोही दिन गरिएको थियो । ७ फागुनमा आएको सबैअको रिपोर्ट नेगेटिभ थियो ।

कोरोना प्रभावित क्षेत्रबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने तथा पहिलो र चौधौं दिनमा दुईपटक नमूना परीक्षण गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ ।

तर वुहानबाट ल्याइएकाको १४ दिन अवधि शनिवार नै पूरा भए पनि दोस्रो नमूना परीक्षण रिपोर्ट आउन ढिला हुँदा क्वारेन्टाइनको बसाइ लम्बिएको छ ।

उद्दार गरिएका १ सय ७५ बाहेक उद्दारमा जाने टोली सदस्य तथा क्वारेन्टाइनमा रहेका अन्य १८ जनाको पनि नमूना संकलन गरिएको छ ।

१ सय ९३ जनाको र्‍याल र नाकाबाट नमूना संकलन गरिएको हो । नमूना संकलनका लागि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारी, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी खरिपाटी पुगेका थिए ।

विश्वमा पछिल्ला दिन भएका अनुसंधानालाए क्वारेन्टाइनमा बसेका व्यक्तिमा २४ दिनपछि पनि कोविड १९को संक्रमण देखिएको छ । त्यसैले दोस्रो रिपोर्ट नेगेटिभ आए पनि अझै जोखिम रहेकाले सुरक्षित रहनुपर्ने सुझाव क्वारेन्टाइनमा खटिएका चिकित्सकहरूले दिएका छन् ।

कमेन्ट गर्नुहोस्