बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमन्ड्ससँग शनिवार साँझ टीकाटालो गरेको घोषणा गरेका छन् । त्यसका साथै उनले सन् २०२० मा आफूहरू मातापिता बन्न लागेको समेत बताएका छन् ।
जोनसन प्रधानमन्त्री बन्नुअगावै नै साइमन्ड्ससँग बसिरहेका थिए । बच्चा जन्मनुअघि नै जोनसन र साइमन्ड्सले विवाह गर्ने बताइएको छ ।
जोनसन ५५ वर्षका भए भने साइमन्ड्स ३१ वर्षकी छन् ।
बेलायती सञ्चारमाध्यमका अनुसार, बेलायतमा २५० वर्षपछि प्रधानमन्त्री पदमा बहाल रहेका नेताले बिहे गरेका हुन् । अनि आफ्नो कार्यकालमा पारपाचुके र बिहे गर्ने जोनसन बेलायतका पहिलो प्रधानमन्त्री हुन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा जोनसन र साइमन्ड्स सँगै बसिरहेका छन् । साइमन्ड्स एक वातावरण अभियन्ता हुन् । उनी वातावरण परियोजनाहरूमा काम गरिरहेकी छन् ।
यसअघि जोनसनले पूर्वपत्नी म्यारिना ह्वीलरसँग पारपाचुके गरिसकेका छन् । उनीहरूका चार सन्तान छन् ।