
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
आइतवार अपराह्न ५ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई बताए ।
आइतवार बसेको सत्तारूढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफू मिर्गौला पुनः प्रत्यारोपणका लागि सोमवार अस्पताल भर्ना हुने बताएका थिए ।
उनको बुधवार मिर्गौला प्रत्यारोपण गर्ने कार्यक्रम रहेको छ । 'उहाँ मिर्गौला प्रत्यारोपणका लागि जानु अघि केही महत्त्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले बैठक बोलाइएको हो,' बालुवाटार स्रोतले दाबी गर्यो ।
पार्टीभित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने कोटामा राष्ट्रिय सभामा सिफारिस गर्ने सचिवालयको निर्णयलाई प्रधानमन्त्रीले चुनौती दिएपछि पार्टीभित्र विवादको परिस्थिति पैदा भएको थियो ।
आइतवार अपराह्न बसेको सचिवालय बैठकले सोही विवाद समाधान गर्ने अपेक्षाविपरित प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपण गर्ने समयसूची सार्वजनिक भएको हो ।
यद्यपि आइतवारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्यका लागि नाम सिफारिस गर्ने सम्भावना पनि रहेको छ । तर सचिवालय सदस्यहरू यसबारेमा खुल्न चाहेका छैनन् ।
'पार्टीले निर्णय गरिसकेको छ, त्यही अनुसार प्रधानमन्त्रीले गर्नुहुनेछ,' एक सचिवालय सदस्यले भने, 'त्यो आज पनि हुन सक्छ र पछि पनि हुन सक्छ ।'