
सुर्खेतको वीरेन्द्रनगरस्थित गण्डकी लाइनमा रहेको सुर्खेत होराइजन एकेडेमीलाई स्मार्ट स्कूल बनाइने भएको छ ।
विद्यालयको १८औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर नेपालीले सरकारले डिजिटल प्रदेशको अवधारणा ल्याएपछि विद्यालयलाई प्रविधिमैत्री बनाउने गरी अघि बढिरहेको बताए ।
'हामी विद्यालयलाई स्मार्ट विद्यालयको रूपमा अर्को वर्षबाट स्थापित गर्न गइरहेका छौं, जसबाट अभिभावक र विद्यालय परिवारबीच थप सहकार्य हुने, छोराछोरीको गल्ती तथा कमजोरीका बारेमा अभिभावकलाई जानकारी दिने, विद्यालयका विभिन्न सूचना दिने कार्यका लागि हामीले मोबाइल एप्सको निर्माण गरिरहेका छौं,' उनले भने, 'आगामी वर्ष हामी स्मार्ट गेटको पनि निर्माण गरिसक्नेछौं ।'
त्यसपछि विद्यार्थीलाई कार्ड दिने र उक्त कार्डले आफ्ना छोराछोरी विद्यालय प्रवेश गरेको तथा बाहिरिएको सूचना अभिभावकको मोबाइलमा उपलब्ध उने उनले बताए ।
आइतवार भएको कार्यक्रममा विद्यार्थीहरू गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।