२३ जेठ २०८३, शनिबार

काठमाडौँ वरपर नयाँ शहरको विकास गर्ने बाटोमा राज्यमन्त्री मानन्धर

फागुन १८, २०७६
काठमाडौँ वरपर नयाँ शहरको विकास गर्ने बाटोमा राज्यमन्त्री मानन्धर

काठमाडौँ उपत्यकाको घना बस्तीलाई व्यवस्थित गर्ने उद्देश्यले उपत्यका वरिपरी नयाँ शहरको विकास गर्ने भन्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहस चलाइएको बताएका छन् ।

राज्यमन्त्री मानन्धरले आफ्नो कार्यकालको १ सय दिन पुगेको सन्दर्भमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ शहर विकासका लागि आफूले बहस चलाएको बताएका हुन् ।

नयाँ वैकल्पिक शहर निर्माणका लागि प्रस्तावित टोखा–छहरे सुरुङ मार्गसँगै नुवाकोटको थानसिंह, ढिकुरे, गँगटेहुँदै देविघाटदेखि रातमाटे हुँदै गल्छीसम्म एउटा शहर बन्न सक्ने राज्यमन्त्री मानन्धरको बुझाइ छ । ‘थानकोट–नौबिसेदेखि गल्छिसम्मको भु–भागमा सुविधासम्पन्न नयाँ शहर निर्माणका लागि वृहत्तर छलफल अगाडि बढाएका छौं,’ राज्यमन्त्री मानन्धरले भने ।

नुवाकोटको छहरेदेखि धादिङको गल्छिसम्मको करीब ३५ किलोमिटर र धादिङको गल्छिदेखि नुवाकोटको चाउथे–बन्चरे हुँदै काठमाडौंको तिनपिप्ले–बालाजु जोड्ने करीब ३० किलोमिटरसहित जम्मा ६५ किलोमिटर उपत्यकालाई घेर्ने वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यक रहेको राज्यमन्त्री मानन्धरले बताए ।

काम अगाडि बढाउन संघीय/प्रदेश र स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्दै अगाडि बढेको राज्यमन्त्री मानन्धरको दाबी छ ।

‘मकवानपुरको इन्द्रसरोवर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुण्डेबेसी, बनेपा, धुलिखेल र पनौति क्षेत्र समाहित गरेर वृहत्तर शहर विकासको सम्भावना रहेको छ,’ राज्यमन्त्री मानन्धरले भने ।

सम्भावित क्षेत्रमा नयाँ शहर विकास गर्न सकिएमा प्रदुषण मुक्त राजधानी बनाउन सकिने राज्यमन्त्री मानन्धरको धारणा रहेको छ ।

धादिङको सल्यानटारमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सकिएपछि १७ किलोमिटरको क्षेत्रमा नयाँ शुन्दर शहर निर्माण हुनसक्ने धारणा व्यक्त गर्दै राज्यमन्त्री मानन्धरले यसको कार्यान्वयनको लागि आवश्यक पहल र छलफल भइरहेको पत्रकार सम्मेलनका क्रममा बताए ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा चक्रपथ, गोरखाको मनकामना जाने सडकको स्तरउन्नती र तनहुँको ब्यास–देवघाट–कालिगण्डकी करिडोर हुँदै दामोदर कुण्डसम्मको ८ सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माणको काम अगाडि बढाइएको उनको दाबी छ ।

‘काठमाडौं उपत्यकाभित्र अव्यवस्थित पार्किङको समस्यालाई सम्बोधन गर्न व्यवस्थित पार्किङस्थल निर्माण प्रक्रिया अगाडि बढाएका छौं,’ मन्त्री मानन्धरले थपे ।

काठमाडौं उपत्यकाभित्र चक्रपथ बिस्तार, उपत्यकाभित्रका भित्री सडकहरूको सुधार र सडकका खाल्डाखुल्डी पुर्ने कामलाई मन्त्रालयले तीव्रता दिएको छ ।

सरकारबाट घोषणा गरिएका २७ वटा शहरहरुको निर्माणको लागि मन्त्रालयको तर्फबाट आवश्यक थालनी भएको राज्यमन्त्री मानन्धरले जनाएका छन् ।

जसमा तेह्रथुमको वसन्तपुर, पाँचथरको फिदिम, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, बाग्लुङको बुर्तीबाङ, तनहुँको डुम्रे, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन शहर रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्