
कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले धनगढीको विकासमा प्रदेश र संघीय सरकार बाधक बनेको टिप्पणी गरेका छन्।
उपमहानगरपालिकाद्वारा आइतबार आयोजित विकास सम्मेलनमा उनले भने, ‘तीन तहको सरकारबीच अझैसम्म तदम्यता मिलेको छैन। प्रदेश सरकार यहाँ बसेको कारणले १ इन्च पनि धनगढी उपमहानगरपालिकाको जमिन छैन। भएको जमिन कब्जा गरिसक्यो।’
मेयर वडले सार्वजनिक शौचालय निर्माणको लागि जमिन अभाव भएको बताएका जिकिर गरे। चुनाव जितिसकेपछि आफूहरुले ५ वटा सार्वजनिक शौचालय निर्माण गरिरहेको बताउँदै उनले जमिन अभावकै कारण समयमा निर्माण कम्पनीलाई ठाउँ दिन नसक्दा क्षतिपूर्ति दिदादिदै हैरान भएको बताएका हुन्।
मेयर वडले टेलिफोनको तार, खानेपानीको पाइपले पनि धनगढीको विकासमा बाधा पुगेको बताए ।
यसैबीच उनले नगरको विकासको गतिविधी तीब्र रुपमा बढाएको दाबी गरेका छन्। नगर क्षेत्रका नागरिकको क्रय शक्ति बढान सम्मेलन गरिएको उनले बताए।
उनले धनगढी उपमहागरपालिकालाई ६ महिनाभित्रै सिटी हल हस्तान्तरण भैरहेको, थारु संग्राहलय निर्माण भैसकेको र रानाथारु संग्राहलय निर्माधिन अवस्था रहेको बताए।
साथै ठाउँ–ठाउँमा पार्क निर्माण, फूलवारीमा कोण्ड स्टोर, जडिबुटी प्रशोधन केन्द्र निजी-सार्वजनिक साझेदारी मोडलमा सञ्चालनको तयारीमा रहेको पनि उल्लेख गरे। बायोग्यासको चाँडै सञ्चालनमा आउँदैछ।
नागरिकको आर्थिक अवस्था उकास्नलाई माछा उत्पादन, बंगुर, बाख्रा, गाई पालनमा जोड दिएको उनको भनाइ थियो। त्यस्तै, पर्यटन प्रवद्र्धनको लागि जखोर ताल, बेहडा बाबा, शिवपुरी धाममा संरचना निर्माण गरिहेको पनि बताए।
विभिन्न विषय विज्ञबीच समूह छलफल गरिएको सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगको सदस्य सुशिल भट्टले गरेका थिए। उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रको विकासको लागि योजनाबद्ध ढंगले अगाडी बढ्नुपर्ने बताए ।
उनले भने, ‘हामी अहिले स्रोतको पहिचान बिनै विकासको योजनाहरु कार्यान्वयन गरिरहेका छौं। यसले राम्रो परिणाम दिएको छैन्।’ उनले कार्यान्वयन योग्य योजना तयार नभएसम्म कार्यान्वयन चरणमा लग्न नहुने बताए।
सदस्य सुशील भट्टले राष्ट्र विकासका लागि सबैमा छटपटी र हुटहुटी हुन आवश्यक रहेको बताए। उनले आयोजना चक्र व्यवस्थापनको सिद्धान्तका आधारमा राष्ट्रिय योजना आयोग अघि बढेको जनाए।