
नेपाल पर्यटन भ्रमण वर्ष-२०२० र आगामी चैतमा आयोजना हुने भनिएको सगरमाथा संवाद स्थगित गर्ने विषयमा मन्त्रिपरिषदमा छलफल भएको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा ती दुई एजेन्डामाथि छलफल भए पनि औपचारिक निर्णय भने लिइएको छैन।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल पर्यटन भ्रमण वर्ष सुरु गरेको थियो।
तर, चीनमा देखिएको कोरानो भाइरस विश्वका अन्य मुलुकमा समेत फैलिएर मानवस्वास्थ्यसँग अर्थतन्त्रमा समेत असर गरिरहेको छ। कोरोना कारण हवाइ क्षेत्रको व्यापार ओरालो लागेपछि नेपालको यो अभियानमा पनि धक्का लागेको हो।
विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएपछि सावधानी अपनाउन पनि भ्रमण वर्षलाई स्थगन गर्नुपर्ने अवस्था सृजना भएको हो।
यति मात्र होइन नेपालले जलवायु परिवर्तन र यसले पारेको असरबार विश्वको ध्यानाकर्षण गराउन चैत २० देखि २२ सम्म काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्न लागेको थियो।
संवादमा करिब १ सय ५० विदेशी प्रतिनिधि समेत आउने तय भएको थियो। तर, कोरोना भाइसकका कारण यो संवाद पनि स्थगित हुने देखिएको छ।