२५ जेठ २०८३, सोमबार

इरानमा कोरोनाभाइरस फैलिएको भए पनि ढोका चाट्ने काम जारी (भिडियो)

फागुन १९, २०७६
इरानमा कोरोनाभाइरस फैलिएको भए पनि ढोका चाट्ने काम जारी (भिडियो)

कोविड–१९ भनिने कोरोनाभाइरसको प्रकोप चीनपछि इरानमा बढी देखिएको छ । 

बीबीसीले इरानका अस्पतालहरूको स्रोत उद्धृत गर्दै इरानमा भाइरसका कारण २१० भन्दा बढी मानिसको मृत्यु भएको लेखेको छ । तर इरान सरकारले भाइरससम्बन्धी तथ्यांक लुकाएको र त्यसलाई रोक्नका लागि पर्याप्त कदम नउठाएको आरोप छ । 

यसैबीत इरानका धार्मिक स्थलमा मानिसहरूले ढोका चाटेको तस्वीर र भिडियो सार्वजनिक भएका छन् । यसले कोरोना फैलिने कारण पनि देखाएको छ । भिडियोमा मानिसहरू ढोका चाट्दा आफूलाई संक्रमण नहुने भनी खुलमखुला भनिरहेका सुनिन्छन् । 

इरानमा विद्यालय, विश्वविद्यालय र खेलकुद केन्द्रहरू बन्द गरिएका छन् र मानिसहरूलाई सार्वजनिक स्थानमा नजान अपील गरिएको छ । धार्मिक शहर कोममा बढी तबाही मच्चिएको छ तर त्यहाँ धार्मिक स्थलहरू बन्द गरिएका छैनन् । 

कोरोनाको भाइरस मानव शरीरबाट बाहिर हुँदा पनि नौ दिनसम्म बाँच्न सक्ने एक अध्ययनले देखाएको छ । तर इरानबाट आएको भिडियोमा एकजना व्यक्तिले भनेको सुनिन्छ, ‘मानिसहरूलाई कोरोनाभाइरसबाट नतर्साऊ ।’

भिडियो शेयर गर्ने पत्रकार मसीह अलीनेजेदले धार्मिक स्थललाई खुला राखेर सरकारले इरान र संसारभरिका मानिसको ज्यानलाई जोखिममा पारेको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्