२२ जेठ २०८३, शुक्रबार

टर्कीका राष्ट्रपति अर्दोआनको एक कदमले युरोपमा हलचल

फागुन १९, २०७६
टर्कीका राष्ट्रपति अर्दोआनको एक कदमले युरोपमा हलचल

टर्की र सिरियाबीच संघर्ष बढ्दै जाँदा युरोपमा नयाँ संकट आइलागेको छ । 

टर्कीले आफूकहाँ शरण लिइरहेका सिरियाली शरणार्थीहरूलाई युरोपमा प्रवेश गर्नका लागि ढोका खोलिदिएका छन् । त्यस कदमका कारण टर्कीका छिमेकी मुलुक र युरोपेली संघको प्रवेशद्वार मानिने ग्रीसलाई अप्ठ्यारो परेको छ । 

ग्रीक सरकारले शरणार्थीको निवेदन लिन बन्द गरेको जनाएको छ र गैरकानूनी रूपमा प्रवेश गर्नेहरूप्रति कडा व्यवहार गरिने घोषणा गरेको छ । 

विगत २४ घन्टामा ग्रीसले लगभग १० हजार आप्रवासीलाई आफूकहाँ आउन रोकेको छ । उसले रोकेपछि आप्रवासीहरूले ग्रीसको सीमामा ढुंगामूढा गरेका छन् । सीमा प्रहरीले अश्रूग्यास प्रहार गर्नुपरेको छ । 

टर्कीमा अहिले लगभग ३७ लाख शरणार्थी छन् । उनीहरूलाई टर्कीले युरोप जान दिइरहेको छ । सिरियाको इदलिबमा आफ्ना ३३ सैनिकलाई सिरियाले हवाई आक्रमण गरी मारेपछि टर्कीले यो कदम चालेको हो । 

सिरिया र टर्कीबीच लामो सीमा छ । गृहयुद्ध बेहोरिरहेको सिरियाबाट विस्थापित मानिसहरूको ठूलो संख्याले टर्कीमा शरण लिएको छ । अनि अफगानिस्तान र अन्य स्थानबाट आएका शरणार्थी पनि छन् । 

युरोपेली संघसँग टर्कीले सन् २०१६ मा सम्झौता गरेर शरणार्थीलाई युरोप आउन रोकेको थियो । तर युरोपेली संघले सम्झौताका शर्त पालन नगरेको अर्दोआनको आरोप छ । 

आफ्ना सैनिक मारिएपछि अर्दोआनले टर्कीको ढोका खोलेपछि १८ हजार शरणार्थी युरोप गएको बताए । आगामी दिनमा ३० हजारसम्म मानिसलाई जान दिइने उनको भनाइ छ । 

ग्रीसका प्रधानमन्त्रीले मंगलवार युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँग मिल्र टर्कीको सीमामा वस्तुस्थिति अनुगमन गर्ने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्