
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षभित्रमा प्रदेशका सम्पूर्ण घरधूरीमा बिजुली बत्ती र आधारभूत खानेपानीको प्रबन्ध गरिने बताएका छन्।
कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर १ र २ लाई जोड्ने गरी खारपानीस्थित सेती नदीमा निर्माण गरिएको पक्की मोटरेवल पुलको आज उद्घाटन गर्दै उनले प्रदेशका पाँच लाख ८७ हजार २१९ घरधूरीमा नै खानेपानी र बिजुली बत्तीको प्रबन्ध गर्ने अभियानका साथ सरकारअघि बढेको उल्लेख गरे।
सरकारको पहिलो निर्णय दुई वर्षभित्र खानेपानी र बिजुली बत्ती पु¥याउने भएपनि तथ्यांक संकलनमा ढिलाइ हुँदा एक वर्ष समय खर्चिनुपरेकाले आगामी वर्ष सबै घरधूरीमा बत्ती र पानीको प्रबन्ध गर्नका लागि चालू वर्षमा ३४ खानेपानी आयोजना शुरुआत गरिएको तथा नेपाल विद्युत् प्राधिकरणको बुटवल र पोखरा क्षेत्रीय कार्यालयसँग प्रशारणलाइन पु¥याउने गरी सम्झौता भएको मुख्यमन्त्री गुरुङले जानकारी दिए।
राष्ट्रिय प्रशारणलाइन पुग्न ढिलाइ हुने मुस्ताङ र उत्तरी गोर्खाका केही गाउँमा सोलार प्यानलबाट बत्ती लैजाने योजना रहेको बताउँदै उनले भने, ‘धेरै बिजुली उत्पादन गर्ने प्रदेश भए पनि यहाँका नौ प्रतिशत घरमा बिजुली नपुग्दा टुकी बाल्नुपर्ने बाध्यताको अन्त्य गरी अर्को वर्ष गण्डकी प्रदेशका सम्पूर्ण घरमा बिजुली पु¥याएर उज्यालो प्रदेश घोषणा गर्दछौँ।’
प्रदेश सरकारले जनताको हित र ग्रामीण जनताको गरिबी हटाउँदै विकासका लागि सडक, खानेपानी, बिजुली, कृषि तथा पर्यटनमा नयाँ नयाँ योजनाअघि सारेर विदेश र पोखरामा बस्नेलाई गाउँ फर्काउने योजनामा रहेको उनले बताए।
भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकार गठनपछि २० पुल सम्पन्न भएका तथा १ सय ४५ सडक तथा पुलका योजना निर्माणको चरणमा रहेकामा यसै आर्थिक वर्षभित्रमा ३० देखि ४० पुल सम्पन्न हुने जानकारी गराए।
वर्षौदेखि सम्पन्न नभएका योजना प्रदेश सरकारलाई हस्तान्तरणपछि सम्पन्न हुँदै गएका बताउँदै उनले चालू वर्षमा १ सय २१ झोलुङ्गे पुल निर्माण गरी जहाँ समस्या त्यहाँ प्रदेश सरकार भन्ने अभियानका साथअघि बढेको स्पष्ट पारे। प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले गाउँपालिकाको रातोपानी, धिप्राङ र मर्दिखोलामा पक्की मोटरवेल पुल निर्माणका लागि योजना पेश गरिएको बताउँदै यसबाट गाउँपालिकाका नौवटै वडा तथा पोखरासम्म सडक सञ्जालले छुने जानकारी गराए।
साविक जिल्ला विकास समितिबाट ०७२ चैत १९ गते निर्माण सम्झौता भएको सो पुल प्रदेश सरकार गठनपछि पूर्वाधार विकास कार्यालय मातहतमा आएको थियो। कुल चार करोड नौ लाख ३३ हजार ७४० लागतमा निर्माण गरिएको प्रि-स्ट्रेसड आरसीसी बक्स ग्रिडर डिजाइनको सो पुल ५८ मिटर लामो छ।
नेपालमा भित्रिएको पछिल्लो प्रविधिलाई अनुशरण गरी निर्माण गरिएको पुल प्रदेशको पहिलो रहेको पूर्वाधार कार्यालयका प्रमुख एवं डिभिजनल इञ्जिनीयर शोभियत खड्काले बताए। गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले ऊर्जा, कृषि तथा पर्यटन विकासका माध्यमबाट समृद्धि प्राप्तिमा अघि बढेको उल्लेख गरे।