२८ असार २०८३, आइतबार

स्रोत अभाव झेल्दै समन्वयका योजना

फागुन २१, २०७६
स्रोत अभाव झेल्दै समन्वयका योजना

बागलुङको विकासका लागि जिल्ला समन्वय समितिले दुई वर्ष पहिला नै विभिन्न योजनाको छनोट गरेर प्राथमिकीकरण गरेको छ ।

स्थानीय तह, सङ्घ र प्रदेश सरकारले गर्नुपर्ने कामको विभाजनसमेत गरेर छनोेटमा परेका सबैजसो योजना शुरू नै हुन सकेका छैनन् ।

समन्वय समितिसँग आफैँले लगानी गर्ने बजेट छैन । सङ्घ, प्रदेश र स्थानीय तहको प्राथमिकतामा नपरेका कारण समन्वय समितिले छनोट गरेका योजनाको काम हुन नसकेको हो । 

पाँच वर्षभित्र सक्ने लक्ष्यका साथ प्राथमिकीकरण गरिएका ती योजना शुरु नभएपछि आवधिक योजना नै अन्योलका परेका छन् । अत्यावश्यक, धेरै खर्च लाग्ने र दुई प्रदेश जोड्ने सडकलाई सङ्घको जिम्मा लगाइएको थियो । ती योजना शुरु हुनै नसकेका हुन् । 

काम अगाडि बढ्न नसकेको राष्ट्रिय गौरवका आयोजनालाई छिटो शुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको थियो । दुई वर्षअघि पनि मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडक अलपत्र थियो । अहिले पनि यो सडक स्तरोन्नति हुन सकेको छैन ।
 
सङ्घ सरकारले गौरवको योजनाका रूपमा सञ्चालन गरिरहेको मध्यपहाडीको काममा कम चासो दिएका कारण समयमा सम्पन्न हुने अवस्था नरहेको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना बताउँछन् । 

आवधिक योजनामा कालीगण्डकी ‘बी’को सर्भे र डिपिआर गर्नुपर्ने माग जिल्ला समन्वयको थियो । यो योजनाको नामसम्म उच्चारण भएको पाइँदैन । जिल्लाका आवश्यकतालाई १७ शीर्षकमा ८५ सूचक बनाएर प्राथमिकता निर्धारण गरिएको थियो । तीमध्ये सालझण्डी ढोरपाटन मोटरमार्ग, ढोरपाटन र अर्नाकोटको विमानस्थल सञ्चालन, बागलुङदेखि कुश्मीसेरा, बरेङ हुँदै गुल्मीको शान्तिपुर तम्घास सडकलाई प्राथमिकता दिने उल्लेख थियो ।

 कुश्मीसेरादेखि बरेङसम्मको सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको साझेदारी बजेट परेर केही काम थालिएको छ । तत्कालीन जिविसले थालेका बहुवर्षे योजना पनि अलपत्रै छन् । मोटरेबल पुलतर्फ केही निर्माणाधीन छन् भने केही बजेट अभावले रोकिएका छन् । सबै तहले प्राथमिकता निर्धारण गरेपछि पैयुथन्थाप राङ्खानी जोड्ने ठेउलेखोला रुम्टाघाट, अर्जेवादेखि पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीका पुल, सल्यानदेखि गुल्मी जोड्नेजस्ता दर्जन पुल अझै पूरा हुन सकेका छैनन् । 

जिल्लामा २० वर्ष अघिदेखि थालिएर अलपत्र परेका अधुरा खानेपानी योजना पूरा गर्ने लक्ष्य पनि अझै पूरा भएका छैनन् । स्थानीय तहमार्फत गरिएका काममा भने नयाँ पम्पिङ प्रविधिका योजना निर्माणाधीन छन् । नीति तथा कार्यक्रम र बजेटले सम्भव हुने स्थानमा सम्बोधन गर्ने क्रम शुरु भएको प्रतिनिधिसभा सदस्य सूर्य पाठकले बताउनुभयो । उहाँका अनुसार कुश्मीसेरा जाने सडक कालोपत्रे र बलेवा विमानस्थल कालोपत्रे गर्नेलगायतका काम थालिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्