
कोरोनाभाइरसका रोगीहरूलाई जीवित राख्नका लागि पश्चिमी मुलुकका चिकित्सकहरूलाई चिनियाँ चिकित्सकहरू जति ज्ञान नभएको विश्व स्वास्थ्य संगठनका एक विज्ञले बताएका छन् ।
उक्त संगठनका तर्फबाट चीनमा कोविड–१९ तथ्य खोजी मिसनका प्रमुख रहेका डा ब्रुस एलवार्डले चीनमा उपयोग भइरहेको अत्याधुनिक स्वास्थ्य सेवाको प्रशंसा गरे ।
‘चिनियाँ चिकित्सकहरू रोगीलाई जिउँदो राख्न निकै सक्षम छन् किनकि उनीहरू नयाँ केस छिट्टो पत्ता लगाउँछन्, रोगीहरूलाई एकान्तमा राखिहाल्छन्, उपचार थालिहाल्छन् र अन्य सहयोग दिइहाल्छन्,’ उनले भने ।
भेन्टिलेसनले काम नगरेमा रोगीको फोक्सोलाई प्रतिस्थापन गर्नका लागि लाइफ सपोर्ट मशिन प्रयोग गर्ने गरेकोमा पनि डा एलवार्डले बेइजिङको प्रशंसा गरे ।
चीनलाई प्रशंसा गर्ने क्रममा उनले त्यहाँको मृत्युदर विश्वका अन्य देशको हकमा लागू नहुने बताए । चीनमा मृत्युदर एक प्रतिशतभन्दा पनि कम छ ।
इटली र इरानमा धेरै मानिस कोरोनाभाइरसबाट मरिरहेको उनले बताए ।
संसारभरि ९३ हजार २१० जनामा कोरोनाको संक्रमण देखिएको छ भने ३२ सय ३ जनाको मृत्यु भइसकेको छ ।