
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १५ राउटे गल्छेना भन्ने स्थानमा बुधवार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दैलेखको धरमपोखराबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप अनियन्त्रित भई बाटोबाट ४०० मिटर तल खस्दा २ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुर्खेतको चिंगाड गाउँपालिका वडा नं. ६ का ५५ वर्षीया देवबहादुर खड्का, कोहलपुर नगरपालिका ६ का ४२ वर्षीय खड्क बीसी र उनकी अन्दाजी ३९ वर्षकी श्रीमती गोमा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए ।
७ जना सवार जीपमा अन्य ४ जना भने घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि विरेन्द्रनगर पठाइएको छ ।
घाइते हुनेमा वीरेन्द्रनगर– ६ की चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर– १६ की लक्ष्मी ज्ञवाली, चिंगाड– ६ का नरे नेपाली र सोही गाउँपालिकाकी दुर्गा गाहा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।