
नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताएका छन् ।
राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको बुधवारको बैठकमा बोल्दै उनले भने, ‘छिटोछिटो सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको छ, सरकारले स्थायित्व पाएको छ, राजनीतिक संक्रमण अन्त्य भएको छ, नयाँ संविधान बनेको छ, अब संघर्ष गर्न परेको छैन, अब स्थिरता छैन भन्न पाइँदैन ।’
सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्नेतर्फ अघि बढेको उल्लेख गर्दै उनले सरकारले पहिलो वर्ष आधार र दोस्रो वर्ष कार्यान्वयन वर्षका रुपमा अगाडि बढाएको बताए । ‘स्वतन्त्र परराष्ट्र नीति, वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्दै सरकार अघि बढेको छ,’ उनले भने, ‘संघीयता कार्यान्वयनले बिस्तारै गति लिँदै गएको छ ।’
सीमा अतिक्रमण रोकी नेपाली भूमि फिर्ता गराउने र राष्ट्रियताको सवालमा सबै शक्ति मिलरे एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रको रक्षा, अभ्यास र विकासमा सबैको एकमत हुनुपर्ने बताए ।
मुलुकको समृद्धिका लागि अपार सम्भावना भएको उल्लेख गर्दै उनले ती सम्भावनाको समुचित प्रयोग गरिनुपर्नेमा जोड दिए । ‘समृद्ध नेपाल, सुखी नेपाली बनाउनु, समाजवाद निर्माण गर्नु अहिलेको आवश्यकता हो,’ सांसद श्रेष्ठले भने, ‘नेपाललाई सभ्य, सुसंस्कृत र समृद्ध मुलुकमा रुपान्तरण गर्नु हो । नयाँ ढाँचाको आर्थिक विकास र सामाजिक न्यायमार्फत समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढ्नु नै आजको आवश्यकता हो ।’
अपार सम्भावनायुक्त मुलुक भए पनि लाखौं युवा विदेशमा पसिना बगाउन बाध्य भएको उल्लेख गर्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्नेतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । सांसद श्रेष्ठले कमीकमजोरी सच्याउँदै अघि बढ्ने, जनताको सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे । सबै मिलेर सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सहमति र सहकार्यका आधारमा काम गर्न प्रमुख प्रतिपक्षसँग आह्वान गरे ।
नवनिर्वाचित सांसदलाई स्वागत गर्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रिय सभाले विधेयक पारित गर्ने मात्र नभई जनसरोकारको विषयमा पनि महत्त्व दिँदै गएको बताए ।
‘राष्ट्रिय सभाले परिपक्व व्यक्ति पाएको छ, नवनिर्वाचित सदस्यको उपस्थितिले अत्यन्त खुशी बनाएको छ,’ उनले भने, ‘राज्यले सुम्पेको अभिभारा पूरा गर्न यहाँहरूको भूमिका महत्त्वपूर्ण हुनेछ ।’

२ वर्षको अवधिमा राष्ट्रिय सभाको बैठक १ दिन पनि नरोकिएको जनाउँदै उनले सत्तापक्ष र प्रतिपक्षी नभई सहमति तथा सहकार्यको संस्कारको विकास गरिएको बताए । राष्ट्र निर्माणको महत्त्वपूर्ण अभियानमा अघि बढेको उल्लेख गर्दै राष्ट्रिय दायित्वसँग जोडिएको जनसरोकारका विषय पूरा गर्ने अभिभारा आफूहरूको काँधमा आएको उनले बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले सहकार्य र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै आर्थिक तथा सामाजिक रुपान्तरणका लागि एक ठाउँमा उभिनुपर्ने बताइन् । ‘के सत्ता पक्ष के प्रतिपक्ष भनेर होइन, सहकार्यका आधारमा अघि बढौं,’ उनले भनिन्, ‘यहाँहरूको उपस्थितिले राष्ट्रिय सभालाई परिपक्व बनाएको छ ।’ उनले नवनिर्वाचित सांसदको सक्रियताले राष्ट्रिय सभाको गरिमालाई स्थापित गर्न सकोस् भनी कामना गरिन् । उनले नवनिर्वाचित सदस्यको कार्याकाल सफलताको कामना गरे ।
समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले राष्ट्र निर्माणमा नवनिर्वाचित सदस्यको महत्त्वपूर्ण भूमिका भएको भन्दै मुलुकलाई समृद्ध बनाउन दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरिन् । ‘यहाँहरूको स्वागत र सफल कार्यकालको कामना गर्दछु,’ उनले भनिन् ।
सातै प्रदेशको समानान्तर विकास नभएसम्म समृद्ध मुलुक निर्माण हुन नसक्ने भन्दै उनले प्रदेश र स्थानीय तहको अधिकार सुनिश्चित गरेर मात्रै समृद्धि हासिल गर्न सकिने बताइन् ।
सभाको शुभारम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यलाई स्वागत गरेका थिए ।