
काठमाडौं, ६ वैशाख –चालू सिजनमा हिमाल आरोहण गर्नेको संख्या उच्च दरमा वृद्वि देखिएको छ । पर्यटन विभागका अनुसार आइतवारसम्ममा ६ सय ७७ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमती लिएका छन् । ७९ टोलीले २१ हिमाल आरोहणको अनुमती लिएका हुन् ।
३ सय ६५ जनाले लिए सगरमाथा चढ्ने अनुमती
विभागका अनुसार आइतवारसम्ममा ३ सय ६५ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । ३९ टालीले सगरमाथा आरोहण गर्न लागेको हो ।
विभागले सगरमाथापछि कञ्चनजंघा साउथ हिमाल आरोहणका लागि धेरै अनुमती दिएको छ । कञ्चनजंघा हिमाल आरोहणका लागि १ सय जनालाई अनुमती दिइएको छ ।
त्यस्तै, ५१ जनाले थापा पिक, ४३ जनाले मकालु –पहिलो, २५ जनाले आमादब्लम, १९ जनाले नुम्त्से र १४ जनाले अन्नपूर्ण हिमाल आरोहणका लागि अनुमती लिएका छन् । बुर्के खाङ हिमाल आरोहणका लागि सबैभन्दा कम अर्थात एक जनाले अनुमती लिएका विभागले जनाएको छ ।
विभागले यही चैत १३ गतेदेखि बसन्त ऋतुका लागि सगरमाथा आरोहण खुुला गरेको थियो ।
विभागले यो सिजनभरी अर्थात आगामी मे महिनासम्म सगरमाथा आरोहणका लागि स्वीकृति दिने गरेको छ ।
विभागका अनुसार गत साल बसन्त ऋतुमा ७ सय ४५ जनाले हिमाल आरोहणको अनुमती लिएका थिए ।