१२ असार २०८३, शुक्रबार

कोरोना कहर : भारतमा २५ जनामा नयाँ संक्रमण

फागुन २२, २०७६
कोरोना कहर : भारतमा २५ जनामा नयाँ संक्रमण

छिमेकी भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । संक्रमितको संख्या बढेसँगै भारत सरकारले विदेशबाट आउने सम्पूर्ण यात्रुलाई विमानस्थलमै ‘स्क्रिनिङ’ गर्न थालेको छ । यसअघि कोरोना प्रभावित देशबाट आउने यात्रुको मात्र परीक्षण हुन्थ्यो । जयपुरमा १७, दिल्लीमा एक, आगरामा ६ र तेलंगानामा एकजनामा संक्रमण देखिएको छ । केरलामा भेटिएका तीनजना संक्रमितको यसअघि नै उपचार भइसकेको छ । 

पछिल्लोपटक इटालीबाट राजस्थान भ्रमणमा आएको २१ सदस्यीय टोलीका १५ पर्यटकमा संक्रमण पुष्टि भएको छ । ती पर्यटकसँगै घुमेका एक भारतीय ड्राइभरमा पनि संक्रमण भेटिएकोे छ । संक्रमितलाई दिल्लीस्थित आइटिबिपी क्याम्पमा उपचारका लागि राखिएको छ । राजस्थानमै थप एकजनालाई पनि संक्रमण देखिएको छ । यी पर्यटक आठ दिनसम्म राजस्थानका विभिन्न ६ जिल्ला घुमेका थिए । यस अवधिमा उनीहरू कम्तीमा दुई सय १५ जनाको सम्पर्कमा पुगेका थिए । उनीहरूसँग भेटघाट गरेकामध्ये ९३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ५१ जनामा संक्रमण देखिएन । अरू ४२ को रिपोर्ट आउन बाँकी छ । 

त्यस्तै, इटालीबाट दिल्ली फर्किएका एक व्यक्तिमा कोरोना देखिएको छ । उनको उपचार हुँदै छ । उनले आगरामा आफन्तलाई भेटेका थिए । उनीहरूमध्ये ६ जनामा संक्रमण देखिएको छ । इटालीबाटै तेलंगाना फर्किएका अर्का एक व्यक्तिमा संक्रमण पुष्टि भएको छ । उनीसँग सम्पर्कमा रहेका ८८ जना अहिले निगरानीमा छन् । यसअघि विदेश यात्राबाट केरला फर्किएका तीनजनामा संक्रमण पुष्टि भएको थियो । तीनैजना बिरामीको उपचार भइसकेको छ । 

भारतीय विदेश राज्यमन्त्री बी मुरलीधरले विदेशमा रहेका १७ भारतीयमा संक्रमण भेटिएको जानकारी प्राप्त भएको बताए । संक्रमितमध्ये १६ जना जापानको क्रुज सिपमा छन् । त्यस्तै, दुबईमा रहेका अर्का एक भारतीयमा पनि संक्रमण देखिएको छ । भारत सरकारले अहिलेसम्म सात सय २३ जनालाई चीनबाट उद्धार गरेर ल्याइसकेको छ । त्यस्तै, जापानको क्रुज जहाजबाट एक सय १९ भारतीयलाई ल्याइसकिएको छ । केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवद्र्धनले इरानमा फसेका भारतीय नागरिकको परीक्षणका लागि त्यहीँ ल्याब बनाइने बताएका छन् । यसका लागि भारतले चार वैज्ञानिक इरान पठाउँदै छ । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्