भारतको मध्य प्रदेशमा कांग्रेस पार्टीको सरकार ढलाउने भारतीय जनता पार्टीको रणनीति विफल भएको छ ।
कमलनाथ सरकारसँग असन्तुष्ट विधायकहरूमध्ये ६ जना भोपाल फर्केका छन् भने चारजना अझै बेपत्ता छन् । प्रदेश सरकार सुरक्षित रहेको कांग्रेसको दाबी छ ।
मंगलवार रातिसम्म सबै कुरा योजना अनुसार नै भइरहेकोमा एक विधायकको सहयोगीको गल्तीका कारण भाजपाको रणनीति विफल भएको हो ।
सञ्चारमाध्यममा लेखिएअनुसार, विधायकका सहयोगीले दिल्ली जानुअघि एक फोन गरे र फोनबाट दिल्लीमा विधायकहरू भेला भइरहेको खबर लीक भयो । खबर बाहिरिएपछि कांग्रेसले तत्कालै मन्त्री जीतू पटवारी र जयववर्धन सिंहलाई दिल्लीतिर दौडायो । दिल्लीमा मंगलवार विभिन्न दलका १२ विधायक पुग्नुपर्ने थियो तर १० जना पुगे ।
भागेका विधायकहरू बुधवार भाजपाका ठूला नेताहरूसँग भेट्ने कार्यक्रम थियो । दशजना विधायक सत्ताबाट बाहिरिँदा प्रदेशमा राज्यसभा चुनावअघि नै सरकार गिर्ने भाजपाको आकलन थियो । दिल्लीमा दुई ठाउँमा र बेंगलुरुमा एक ठाउँमा विधायकहरू लुक्ने कार्यक्रम थियो ।
कांग्रेस नेता दिग्विजय सिंहले मंगलवार बिहान ट्वीट गरेर भाजपा विधायक भूपेन्द्र सिंहले बीएसपीबाट निलम्बित विधायक रामबाईलाई आफूुँग चार्टर्ड विमानमा राखेर दिल्ली पुगेको लेखेका थिए । त्यसपछि साँझ भाजपाका उपाध्यक्ष तथा पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान दिल्ली पुगे ।
विधायकहरूलाई गुरुग्रामको एक होटलमा राखिएको थियो । खबर पाएपछि मन्त्री पटवारी र जयवर्धन दिल्ली पुगे । दिग्विजय पनि राति होटल गए तर उनले कसैलाई भेटेनन् । मुख्यमन्त्री कमलनाथले पनि राति अबेरसम्म दिल्लीमा रहेका विधायकहरूसँग सम्पर्क गरिरहे ।