
कोरोनाभाइरसको विश्वव्यापी प्रभावसँगै नेपालमा समेत अत्यावश्यक वस्तु र औषधिको अभाव हुन नदिने गरी उत्पादन, आयात, वितरण र अनुगमन गर्ने निर्णय सरकारले गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गठन गरेको कोरोना उच्चस्तरीय समितिको बिहीवारको बैठकले कोरोनाभाइरस भित्रिन नदिन थप सुरक्षा सावधानी अपनाउने निर्णय समेत गरेको छ ।
बैठकमा समिति संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, सदस्यहरू गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवाली लगायत सुरक्षा निकायका प्रमुुखको सहभाष्तिा रहेको थियो ।
समितिको बैठकले थप सुरक्षा अपनाउने, आधारभूत औषधि अभाव हुन नदिने, छिमेकी देशले औषधि निर्यातमा लगाएको प्रतिबन्धमा नेपाललाई छुट दिन अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘अत्यावश्यक वस्तुको अभाव हुन नदिने र कृत्रिम अभाव सिर्जना हुन नदिने, मास्कको उत्पादन बढाउने र अभाव हुन नदिने, पर्यटन प्रवद्र्धन, प्रचारप्रसार नगर्ने निर्णय समेत गरिएको छ,’ उनले पत्रकार सम्मेलनमा भने ।
