०२ असार २०८३, मंगलबार

कोरोनाको त्रास बढेपछि सर्जिकल मास्कको अभाव

फागुन २३, २०७६
कोरोनाको त्रास बढेपछि सर्जिकल मास्कको अभाव

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ । 

नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौं निर्यात गरेपछि अभाव सिर्जना भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करीब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क मौज्दात नरहेको जानकारी दिए । 'डिलरमै मास्क छैन, हामीसँग भएको पनि सकियो,' उनले भने, 'एक महिनादेखि मास्क ल्याउने प्रयास गरेका छौं, कतै पाइएको छैन ।' 

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घअन्तर्गत फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाको मास्कहरू पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिए । कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उनले बताए ।  

यसैबीच, काठमाडौंबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीवार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ । 

अस्पतालका निर्देशक डा. डम्बर खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए । उनले भने, 'ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था रहेको छैन ।' प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच शुरू गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्