
कोरोनाका कारण लाखौं बालबालिकाले जोखिम मोलेर स्कूल जान परेको भन्दै स्कूल-कलेज तत्काल बन्द गर्नका लागि सरकारलाई निर्देशन दिन नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सभामुखसँग आग्रह गरेकी छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सचेतक भुसालले स्कूल-कलेज बन्द गर्न सरकारलाई निर्देश गर्न माग गरेकी हुन् ।
‘हिजो भर्खरै मात्र जिल्ला प्रशासनले भीडभाडमा नजान भनेको सर्कुलर पढ्न पायौं । एकातिर जिल्ला प्रशासनले परिपत्र गर्ने अर्कातर्फ लाखौं हाम्रो बालबालिका स्कूल जान बाध्य छन् । चैत ५ सम्म स्कूल बन्द नगर्ने भनेर अर्को सूचना आएको छ,’ उनले भनिन्, ‘एकातर्फ जिल्ला सूचना जारी गर्ने अर्कातर्फ बालबालिका यस्तो जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने भएकाले सभमुखमार्फत सरकारको ध्यानाकर्षण गराएर स्कूल-कलेजलाई तत्काल बन्द गर्न निर्देश गर्न माग गर्दछु ।’