
स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।
स्याङजाको वालिङ नगरपालिका- ७ लभ्ली डाँडास्थित मिर्दी- चापाकोट सडक खण्डमा ताप्केबाट वालिङतर्फ जाँदै गरेको बीएए ७९०५ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा वालिङ नगरपालिका वडा नम्बर- ७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको छ ।
जीपमा २२ जना सवार रहेकोमा २० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि १७ जनालाई पोखरा रिफर गरिएको र २ जनालाई बुटवल पठाइएको छ।
एकजना बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।
जीप चालक वालिङ नगरपालिका- ७ का २८ वर्षीय मीनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।