
कोरोना भाइरसको संक्रमण संसारभर फैलिँदै जाँदा सामाजिक सञ्जाल फेसबूकको कार्यालयसम्म त्यसको असर पुगेको छ ।
फेसबूकले आफ्ना ३ वटा कार्यालय बन्द गर्दै कर्मचारीलाई घर फिर्ता गरेको छ । कर्मचारीले अफिस नआई घरबाटै काम गर्नसक्ने सुविधा फेसबूकले दिएको छ ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ भने ३ हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
द इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार फेसबूकका एक कर्मचारी सिंगापुरबाट लन्डनको फ्रिटजोविया कार्यालयमा आएका थिए । उनी २४–२६ फेब्रुअरीसम्म कार्यालयमा रहेका थिए । पछि उनी कोरोना संक्रमित भएको खुलेको थियो । त्यसैले फेसबूकले लन्डनस्थित कार्यालय बन्द गरेको छ ।
डेली मिरर वेबसाइटका अनुसार फेसबूकका लन्डनस्थित सबै कार्यालय सोमवारसम्मका लागि बन्द गरिएका छन् । त्यतिबेलासम्म फेसबूकका सबै ३ हजार कर्मचारी घरबाटै काम गर्नेछन् ।

फेसबूकले सबै कर्मचारीलाई घरैबाट काम गर्न र कोरोनाको लक्षण देखिए तत्काल प्रशासनमा सूचना दिन निर्देशन दिएको छ ।
स्काइ न्युजका अनुसार सिंगापुरबाट आएका ती संक्रमित कर्मचारीको सम्पर्कमा आएका लन्डनका सबै कर्मचारीमाथि फेसबूकले निगरानी राखेको समेत जनाइएको छ । ती संक्रमित कर्मचारीको सम्पर्कमा पुगेका व्यक्तिलाई स्वास्थ्य जाँच गराउन र अरुको सम्पर्कमा नजान समेत निर्देशन दिइएको छ ।
.@Facebook is closing its three London offices and telling staff to work from home after an employee was diagnosed with #COVIDー19 https://t.co/AOISKacLTd
— Sky News (@SkyNews) March 6, 2020
बिदा गरिएको अवधिमा फेसबूकले कार्यालयमा सफाइ गर्ने जनाएको छ । कार्यालयमा सफाइ गरेर कोरोना संक्रमणको खतरा हटेपछि मात्रै कार्यालय सञ्चालनमा ल्याइनेछ ।