
कोरोना भाइरसको संक्रमणले विश्वभर त्रास छ, चीनको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
चीनको समग्र औद्योगिक उत्पादन र आर्थिक गतिविधिमा नराम्रो प्रभाव परेको बेला एउटा यस्तो व्यापार छ, जुन धेरै फस्टाएको छ ।
कोरोना संक्रमणको खतराले चिनियाँहरू घरबाहिर निस्कन नसकेपछि अनलाइन व्यापार फस्टाएको छ । अनलाइन खरिदबिक्री, ई–व्यापार, अनलाइन शिक्षा लगायतका कारोबारमा उल्लेख्य वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार एजेन्सी आईएएनएसका अनुसार कोरोना भाइरसको रोकथामका लागि सरकारले विभिन्न क्षेत्रमा ‘स्टे–होम’को तरिका अपनाएकाले चिनियाँहरू घरबाहिर निस्कन पाएनन्, जसले गर्दा अनलाइन व्यापार फस्टाएको छ ।
पूर्वी चीनको हाङचाओ शहरकी युवती फाङ च्वो कोरोना भाइरसको संक्रमण फैलिएपछि अनलाइनबाटै फलफूल, तरकारी लगायत दैनिक उपभोग्य वस्तु खरिद गर्छिन् । उनको अधिकांश समय घरमै बित्छ । यसरी प्रभावित क्षेत्रका चिनियाँ घरभित्रै भएकाले अनलाइन व्यापार बढेको छ ।
खाना पकाउने झन्झट नहुने भएकाले कतिपय युवायुवती फस्ट फूड खरिद गर्छन् । फाङ च्वोका पुरुष साथी चाङ लूले भने, ‘म रोटी अर्डर गरेर खान्छु । बिहान ७ बजे अर्डर गरेपछि साँझ ५ बजे रोटी घरमै पुग्छ ।’
चर्चित खुद्रा बिक्री अनलाइन मञ्च पिन त्वो त्वोका अनुसार महामारीका क्रममा चिकित्सा र संक्रमण रोक्ने वस्तुको माग बढेको छ । फास्ट फूड, ताजा फल, महिलाका लागि शृंगार सामग्री, खैलौना, व्यायामका सामग्री, फर्निचर र विद्युतीय उत्पादनको माग अनलाइन माध्यममा उल्लेख्य बढेको छ ।