
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले शनिवार पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारको सामाजिक मन्त्रालयबाट प्रस्तावित नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ प्रतिकार्य सम्बन्धमा गरिएको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिइन् ।
उनले प्रदेश भित्रका ५ नाका हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई, विमानस्थल र कुइनेमा हेल्थ डेस्क राख्ने, त्यसका लागि आवश्यक जनशक्ति परिचालन तथा बजेट व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरिएको बताए ।
प्रवक्ता केसीका अनुसार ‘कोभिड–१९’को प्रतिकार्य गर्न सरकारले मेला, महोत्सव, आमसभा, भेला तथा सार्वजनिक कार्यक्रम, अनावश्यक आवतजावत, हात तथा गला मिलाउने कार्य नगर्ने र नगराउने, उत्तरी नाकालाई विशेष ढंगले कडाई गर्ने, यो समयमा कालोबजारी गर्नेलाई कडाइपूर्वक कारवाही गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसबारे आतंकित नहुन र उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीबाहेक शिक्षक, विद्यार्थी, नागरिक समाज, नीजि क्षेत्र, सरोकारवाला पक्षसँग आवश्यक समन्वयगरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सन्देशमूलक कार्यक्रमलाई प्रभावकारी ढंगले प्रवाह गर्ने निर्णय भएको उनको भनाइ थियो ।