
धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।
अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । ५ कारोबार दिनमा एकाध दिन मात्रै बजारले उकालोको यात्रा तय गर्यो ।
यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुपर्यो । नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्तासमेत मर्कामा समेत परे ।
साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो नै लागेर बन्द भयो । बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो ।
साताभर कूल १८१ कम्पनीको कूल ३ करोड १६ लाख ५५ हजार ५८३ कित्ता शेयर १३ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतवार नेप्से ४०.८२ अंकले घटेर १ हजार ५९१.३६ मा पुग्यो । सो दिन कूल १८३ कम्पनीका १ करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ मा खरिद बिक्री भयो ।
यस साता सोमवार भने नेप्सेमा नकारात्मक सर्किट नै लाग्न पुग्यो । सोही कारण त्यस दिनको कारोवार नै स्थगित भयो । नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि त्यस दिनको कारोबार स्थगित भयो ।
नेप्सेका अनुसार त्यस दिन दिउँसो १ बजेर २९ मिनेटदेखि कारोबार स्थगित गरिएको थियो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६।०६ विन्दुले झरेको थियो । गिरावट प्रतिशतका आधारमा ६.०६ हो । त्यसदिन कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर २ अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोबार भएको थियो ।
मंगलवार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा कारोवार केही समय स्थगित भयो । सो दिन भने कूल १८१ कम्पनीको ८२ लाख ११ हजार २८९ कित्ता शेयर ३ अर्ब ८५ करोड १६ लाख २२ हजार ९९६ मूल्यमा खरिद बिक्री भए ।
बुधवार समेत नेप्से परिसूचकमा भारी गिरावट आयो । त्यस दिन नेप्से ६८.४७ अंकले घटेर १ हजार ४४१.२० मा पुग्यो । त्यसदिन कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भए ।
बिहीवार पनि नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से ओरोलो लागेपनि कारोबार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको थियो । कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरिद बिक्री भए ।