
अस्ट्रेलियाको वूल्सवर्थ स्टोरमा ट्वाइलेट पेपरका लागि लुछाचुँडी गर्ने आमाछोरीको जोडीविरुद्ध मुद्दा दायर गरिएको छ ।
सिड्नीको दक्षिणपश्चिमस्थित चुल्लोरामा रहेको वूल्सवर्थ स्टोरमा ४९ वर्षीया महिलालाई शनिवार आक्रमण गरिएपछि प्रहरीलाई बोलाइएको थियो ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसमा महिलाहरूले ट्वाइलेट पेपरको ठूलो पोकोका लागि एकअर्कालाई धकेलेको, चिच्याएको र झगडा गरेको देखिन्छ ।
कोरोनाभाइरस फैलिएपछि मानिसहरूले अहिले धमाधम सामान किनेर जम्मा गरिरहेका छन् ।
पसल बिहान ७ बजे खुल्छ र त्यसभन्दा घन्टौं अघिदेखि मानिसहरू सामान किन्न आए । तीमध्ये ६० वर्षीया आमा र २३ वर्षीया छोरी पनि थिए र उनीहरूले आफ्नो ट्रलीभरि ट्वाइलेट पेपर राखे ।
आमाको ट्रलीबाट अर्की एक महिलाले ट्वाइलेट पेपरको एक प्याकेट झिक्न खोजेपछि झगडा शुरू भएको थियो ।
पसलको कर्मचारीले झगडा रोक्दै गर्दा आमा चाहिँको ट्रलीमा ट्वाइलेट पेपरको पहाड देखिन्थ्यो ।
पछि प्रहरीलाई पनि घटनास्थलमा बोलाइएको थियो ।
‘ब्यांक्सटाउन प्रहरी कार्यालयका अधिकारीहरू घटनास्थलमा पुगे र ४९ वर्षीया महिलासँग कुरा गरे । उनीमाथि आक्रमण गरिएको बताइएको छ,’ प्रहरीका एक प्रवक्ताले बताए । ‘उनलाई कुनै चोटपटक लागेको छैन ।’
‘राति ८ बजेतिर दुई महिला ब्यांक्सटाउन प्रहरी कार्यालय गए अनि अनुसन्धानकर्मीहरूसँग कुराकानी गरे ।’
आइतवार आमाछोरीलाई झैझगडा गरेको आरोपमा अदालतमा उपस्थित हुन समन जारी गरिएको छ ।
उनीहरू अप्रिल २८ मा अदालतमा उपस्थित हुनेछन् ।