
अञ्जन विष्टको निर्णायक गोलमा मनाङ मर्स्याङदी क्लब १८ औँ संस्करणको आहा! रारा गोल्डकप फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा झापा-११ फुटबल क्लबलाई पाखा लगाउन विष्टले खेलको ७५ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
डी-एरियामा रहेका विष्टले पूजन उपरकोटीले मिलाइदिएको पासलाई सदुपयोग गर्दै विपक्षी पोष्टको जाली चुमाएका हुन्। सहारा क्लबले आयोजना गरेको आहा रारा गोल्डकपको १८ औं संस्करणसम्म आइपुग्दा आइतबारको खेल २ सय औं खेल थियो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा मनाङले विजयी यात्रा जारी राख्न खेलको ७५ औ मिनेटसम्म कुर्नुपरेको थियो।
मनाङले अब २९ फागुनमा संकटा र त्रिभुवन आर्मीसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।
सोमबारको खेल भारतको गान्तोक सिटी क्लब र थ्री स्टार क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ। यसअघि नेपाल पुलिस क्लब अन्तिम चारमा पुगिसकेको छ।
आगामी १ चैतसमम हुने प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।