
नेपाली बजारमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । सर्वसाधारणले आइतबार १ डलर पाउन १ सय १८ रुपैयाँ ३२ पैसा तिर्नुपरिरहेको राष्ट्र बैंकले तोकेको विनिमयदरले देखाउँछ । अधिकांश वाणिज्य बैंकहरूले यही दरमा डलर बिक्री गरिरहेका छन् ।
यसअघि १८ भदौ ०७६ मा १ सय १६ रुपैयाँ १६ पैसासम्म पुगेको डलरको भाउ त्यसयता घटे पनि हाल बढ्दो क्रममा छ । डलरसँग भारतीय मुद्रा थप कमजोर बनिरहेकाले पनि नेपाली मुद्रा अवमूल्यन भइरहेको छ । गत बिहीबार प्रतिडलरका लागि भारतीयहरूले ७३.६९ देखि ७४.०८ भारु तिरिरहेका छन् । नेपाली मुद्रा भारतीय मुद्रासँग ‘पेग्ड’ गरिएको छ । भारु बलियो भए नेपाली मुद्रा पनि डलरसँग बलियो हुन्छ भने कमजोर भए कमजोर ।
विश्व बजारमा डलरको विनिमयदर अन्य मुद्रासँग बिस्तारै ओरालो लागिरहे पनि भारतीय मुद्राभन्दा थप बलियो बन्दै गइरहेको छ । चीनबाट देखा परेको कोरोनाको संक्रमणका कारण चीनसँग प्रमुख व्यापार रहेको भारतलाई समेत असर पर्ने आकलनले समेत भारतीय मुद्रा अमेरिकी मुद्राको तुलनामा कमजोर भइरहेको थियो ।
सुरक्षित मुद्राका रूपमा रहने डलरमा लगानी बढिरहेका कारण डलर बलियो बन्दै गइरहेको थियो । पछिल्लो समय भने अमेरिकी डलरको भाउसमेत केही एसियाली मुलुकका मुद्रा र युरोसँग कमजोर भइरहेको छ । जापानी येन र युरोभन्दा अमेरिकी डलर कमजोर बन्दै गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । अमेरिकी केन्द्रीय बैंक (फेड)ले नीतिगत ब्याजदर ५० प्रतिशत आधारदरले घटाएपछि डलर अवमूल्यन भइरहेको हो । ५० प्रतिशत आधारदरमा गरिएको यो कटौतीलाई फेडको सन् २००८ डिसेम्बरको वित्तीय संकटपछिको पहिलो कदमका रूपमा हेरिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट हुने आर्थिक समस्यासँग लड्न फेडको यो कदम आएको मानिएको छ । अमेरिकी अर्थतन्त्रमा कत्तिको समस्या पर्न सक्छ भन्ने आकलनका आधारमा यस्तो कटौती गरिएको हो । फेडले नीतिगत ब्याजदर घटाउँदा उपभोक्ताले समेत कम ब्याजदर पाउन थाल्छन् । यसले सर्वसाधारणको क्रयशक्ति घट्न सक्नेसमेत हुन्छ । आगामी दिनमा फेडले नीतिगत ब्याजदरमा थप कटौती गर्न सक्ने सम्भावना रहेको छ । यसो भएमा डलरको भाउ भने तुलनात्मक रूपमा केही कमजोर हुन सक्छ । नयाँ पत्रिकामा खबर छ ।