१२ असार २०८३, शुक्रबार

हिजो दिनभर : उपभोग्य वस्तुको अभाव छैन, कालोबजारी भएको भेटे ११३७ मा फोन गर्नुस्

फागुन २७, २०७६
हिजो दिनभर : उपभोग्य वस्तुको अभाव छैन, कालोबजारी भएको भेटे ११३७ मा फोन गर्नुस्

उपत्यकामा होली: २० दुर्घटना, २ हजार सवारी चालक कारबाहीमा

होली पर्वमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ९ सय ४१ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

ट्राफिक प्रहरी महाशाखाले सोमबार होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ४५ दुईपाङ्ग्रे र २ सय ९६ वटा चारपाङ्ग्रे सवारीसाधनका चालकलाई कारबाही गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र मोडिफाई वा ठूलो आवाज निकालेर चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिए।

बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखालगायत उपत्यकास्थित ट्राफिक कार्यालयले ७६ स्थानमा विशेष ट्राफिक चेकजाँच गरेको, त्यस्तै १४ वटा मोबाइल भ्यानबाट मोबाइल चेकजाँच तथा मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरेको महाशाखाका प्रमुख ढकालले बताए।

काठमाडौं उपत्यकामा सोमबार २० वटा सवारी दुर्घटना भएका छन्। जसमा दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन्।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार महाशाखाले नियमित ड्यूटी बाहेक होलीमा थप ५ सय ६६ भन्दा बढी ट्राफिक प्रहरी खटाएको जानकारी दिए। 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ‘सन्तोषजनक सुधार


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नियमित खानपान, हिँडडुल र व्यापाम गरिरहेका जनाएका छन् ।

ओलीलाई मिर्गाैला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्यस्थिति समेत राम्रो रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँगै डिस्चार्ज हुने भाञ्जीको चाहना, भोलि या पर्सिमा दुवैजना घर फर्किने

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएपछि त्रिवि शिक्षण अस्पतालले उनलाई मंगलवार या बुधवारसम्ममा डिस्चार्ज गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण टोलीका प्रमुख डा. प्रेमराज ज्ञवालीले बुधवारसम्ममा डिस्चार्ज गर्ने तयारी रहेको जानकारी दिए । 

‘नर्मल्ली बुधवार प्रत्यारोपण गरेका बिरामीलाई हामी सोमवार डिस्चार्ज गर्ने गरेका छौं, भोलि या पर्सीसम्ममा प्रधानमन्त्रीज्यू डिस्चार्ज हुनुहुन्छ,’ डा. ज्ञवालीले लोकान्तरसँग भने ।

२१ गते बुधवार ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

डा. ज्ञवालीले प्रधानमन्त्रीको स्वास्थ्यमा थप जोखिमको सम्भावना नभएकाले डिस्चार्जको तयारी भएको बताए । 

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी भाञ्जीलाई पनि एकसाथ डिस्चार्ज गर्ने अस्पतालको तयारी छ । 

‘डोनर भाञ्जीको स्वास्थ्य पनि ठीक छ, प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने चाहना राख्नुभएको छ, त्यसैले सँगै डिस्चार्ज गर्दैछौं,’ डा. ज्ञवालीले भने । 

प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिने र सामान्य हिँडडुल गराउने गरिएको अस्पतालले आइतवार विज्ञप्तिमार्फ जनाएको थियो ।

‘प्रधानमन्त्रीलाई राजनीतिक र अरू कुरा गर्न खोज्दा रोकेका छौं,’ एक चिकित्सकले भने । 

प्रधानमन्त्री ओलीले बाग्मती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा सम्बोधन गर्ने क्रममा आफू मिर्गौला प्रत्यारोपणका लागि पाँच दिन अस्पताल बसेर छैठौं दिनदेखि काममा फर्किने बताएका थिए ।

प्रधानमन्त्री ओली अघिल्लो सोमवार अस्पताल भर्ना भएका थिए । 

सरकारले भन्यो– उपभोग्य वस्तुको अभाव छैन, कालोबजारी भएको भेटे ११३७ मा फोन गर्नुस्

सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । 

आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानून तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारवाही हुने चेतावनी दिएको हो । 

मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा मात्रै दबाब परेको स्पष्ट पार्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने, 'खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या छैन । कहीँ कतै पनि आत्तिइहाल्नुपर्ने अवस्था छैन ।'

व्यापारीले रु २० मा पाइने आयोडिनयुक्त नुनको रु ४० सम्म बिक्री गरेको, खाना पकाउने एलपी ग्यास लिन लामा लामा लाइन लागेको, मास्क तथा अन्य खाद्यउपजमा समेत कालोबजारी भएको चर्को गुनासो आएपछि आज पत्रकारसँगको भेटमा मन्त्री भट्टले केही सामानमा दबाब परे पनि सङ्कटको अवस्था नभएको बताए ।

सङ्कटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर कुनै पनि व्यवसायी त्यसरी प्रस्तुत भए तिनलाई जरिवाना तिराउने मात्रै नभई जेलसम्म हाल्नुपर्ने अवस्था आउनसक्ने मन्त्री भट्टको भनाइ छ । 
काठमाडौं उपत्यकामा विशेषगरी गुणस्तरीय मानिएको नेपाल ग्यासमा ठूलो दबाब परेको छ । त्यसलाई हटाउने लक्ष्यका साथ नेपाल आयल निगमले मागभन्दा झण्डै दोब्बर ग्यासको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ तर उपभोक्ताले पनि संकटको बेलामा के हो के भने जसरी आवश्यकभन्दा बढी ग्यासका सिलिण्डर भण्डारण गरेका कारण नयाँ सिलिण्डर नै पाउन मुस्किल परेको छ । 

नयाँ सिलिण्डर नभएका कारण रिफिलिङ गर्न समस्या देखिएको छ । 

सामान्य अवस्थामा ३७ हजार टन ग्यास आयात हुने गरेकामा कोरोना त्रासपछि नेपाल आयल निगमले ४५ हजार टनका लागि प्रोडक्ट डेलिभरी अर्डर(पीडीओ) जारी गरेको छ । यो हालसम्मकै बढी हो । त्यसमा अत्यावश्यक भन्दै थप पाँच हजार टनको व्यवस्था गरिएको हो । 

निगमले होलीको समयमा समेत भारतबाट ग्यास आयात र लोडिङ गरिरहेको छ । होलीको समयमा बिदा हुने भए पनि त्यसलाई परवाह नगरी ग्यास लोडिङ गरिएको हो । निगमले सुरक्षालगायतका कारण पनि आवश्यकभन्दा बढी ग्यासको सिलिण्डर नराख्न उपभोक्तालाई आग्रह गरेको छ । ग्यास पाइन्न कि भनेर उपभोक्तामा त्रास बढेपछि निगमले ४४ हजार सिलिण्डर पठाएको छ । 

यसअघि उपत्यकामा दैनिक ३० हजार सिलिण्डर मात्रै ग्यास आपूर्ति हुन्थ्यो । उपभोक्तालाई सहज आपूर्ति गर्न थप १४ हजार सिलिण्डर पठाइएको छ । बजारमा कुनै पनि वस्तुको आपूर्ति कम हुन नदिने सबै सरकारी निकाय अहोरात्र परिचालित भएको मन्त्री भट्टको भनाइ छ । 

'हामीले आपूर्ति कम हुन नदिन सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौं । कर्मचारी पनि परिचालित भएका छन् । कुनै पनि वस्तुको आपूर्तिमा कमी हुन दिइँदैन ।'

कालोबजारी भए ११३७ मा फोन गर्नुस् 

मन्त्री भट्टले आपूर्ति तथा अन्य कुनै समस्या आए ११३७ नम्बरमा फोन गर्न आग्रह गरे । पैसा नलाग्ने सो नम्बरमा फोन गरेर आफ्ना समस्या तथा गुनासो राख्न सकिनेछ । 

कालोबजारी भए, परल मूल्यभन्दा बढी मूल्यमा कुनै सामान बिक्री वितरण गरेको पाइए सो नम्बरमा गुनासो गर्न सकिने मन्त्री भट्टको भनाइ छ । 

उनले केही दिनभित्रैमा साल्ट ट्रेडिङलगायतका स्थानमा पनि हटलाइन सेवाको शुरुआत गरिने जानकारी दिए ।

सबै प्रकारका उपभोग्य सामग्रीको अभाव नभएको तर बजारमा केही व्यापारीले अनावश्यकरूपमा नकारात्मक हौवा फैलाएको बताए ।

हाल साल्ट ट्रेडिङसँग आगामी दशैंसम्म पुग्ने गरी नुन स्टकमा छ । 'तर नुन सकिए जसरी प्रचार भयो, यसलाई चिर्न जरुरी भयो', मन्त्री भट्टले भने । यस्तै साविकको खाद्य संस्थानसँग कूल २० हजार मेट्रिक टन धान स्टक छ । 
उक्त परिमाणको धानबाट मात्रै १४ हजार मेट्रिक टन चामल उत्पादन हुन सक्छ । सरकारी मिलले मात्रै दैनिक एक हजार क्विन्टल बढी चामल उत्पादन गर्ने क्षमता राख्दछ । 

बजार अनुगमनलाई अब एकीकृत योजना र कार्यदलमार्फत अगाडि बढाउने सरकारको योजना रहेको मन्त्री भट्टको भनाइ छ । 

मुलुकका ३७ वटै नाकाबाट प्रवेश गर्ने यात्रुको स्वास्थ्य परीक्षण क्वारेन्टाइन निर्माण तथा तथ्याङ्क सङ्कलन गर्नेसम्मको काम भइरहेको उनले जानकारी दिए ।

सो अवसरमा वाणिज्य सचिव वैकुण्ठ अर्यालले सरकारी बिदाको समयमा समेत बजार अनुगमनलाई तीव्र पारिएको, अनुमगन प्रक्रियालाई समेत केही परिवर्तन गरिएको जानकारी दिए ।

उपभोक्ताले पनि सरकारलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै उनले व्यापारीले बढी मूल्य लिए किन भनेर प्रश्न गर्न र सरकारी निकायलाई खबर गर्न आग्रह गरे  रमेश लम्साल/रासस

तरुण दलद्वारा कालोबजारी र वस्तुको कृत्रिम अभाव रोक्न माग


नेपाल तरुण दलले कारोना भाइरसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको जनाउँदै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । 

अध्यक्ष जितजङ्ग बस्नेतले एक विज्ञप्तिमार्फत कालोबजारी र कृत्रिम अभावको निगरानी गर्न तरुण दल केन्द्रिय समिति र सम्पूर्ण सदस्यलाई निर्देशन समेत दिएका छन् । छिमेकी मुलुक चीनबाट शुरु भएर विश्वका विभिन्न मुलुकमा माहामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी सजग रहन तरुण दलले सबैमा आह्वान गरेको छ । 

एक अर्कासँग भेट हुँदा, हार्दिकता साटासाट गर्दा हात नमिलाउन र नमस्कार भनेर सम्बोधन गर्न आग्रह गर्दै उनले विद्यालय विश्वविद्यालय जस्ता समूहमा बसेर अध्ययन अध्यापन हुने ठाउँमा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । 

एक अर्कामा रंग लगाई सद्भाव साटासाट गर्दै मनाइनेले होली पर्वमा विगतका वर्ष जस्तो ठूला भिडभाड हुने र साङ्गितिक कार्यक्रम यो वर्ष आयोजना नगर्न नगराउन विभिन्न तहका तरुण दलका समितिलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।  

अध्यक्ष बस्नेतले कोरोना भाइरसबारे आम मानिसमा देखिएको त्रासलाई न्यूनीकरण गर्न, सम्बन्धित निकायबाट जारी गरेका आधिकारिक धारणा जानकारी गराएर समाजमा सचेतना फैलाउनेमा कार्यमा लाग्न सम्पूर्ण तरुणमा आग्रह गरेका छन् ।

साढे १० लाख नगद चोरेको आरोपमा नाबालक पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले साढे १० लाख नगद चोरेको आरोपमा एक नाबालकलाई नियन्त्रणमा लिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–६ खोक्रेलाईनमा फागुन २५ गते बार एसोसियसनका अध्यक्ष नन्दराम भण्डारीको घरमा भएको चोरी घटनामा नाबालक पक्राउ परेका हुन् ।

पक्राउ परेका नाबालकको नाम प्रहरीले गोप्य राखेको छ । घरमा कोही नभएको अवस्थामा घरको पछाडिको ढोकाबाट भित्र पसेर दराजको लक खोली दराजभित्र रहेको नगद १० लाख ५० हजार रुपैयाँ चोरी भएको जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले बताए ।

‘हामीले घटना भएको १२ घण्टाभित्रै शंकास्पद नाबालकलाई गिरफ्तार गर्न सफल भएका छौं,’ डीएसपी रावलले भने, ‘नगद १ लाख २० हजार रुपैयाँसहित नाबालकलाई नियन्त्रणमा लिएका हौं । नाबालकले ३ लाख रुपैयाँ आफूले लगेको र अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएका छन् ।’ चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको डीएसपी रावलले बताए ।

यसैबीच, प्रहरीले ६.८०० ग्राम लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । ‘आइतवार राति साढे १० बजे वीननपा–११ सुब्बाकुना चेकपोस्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा५ख ५९९४ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा गाडीको अगाडिको सिसाको तल कालो प्लास्टिकमा बेरेर लुकाइछिपाई राखेको २ पोका लागूऔषध जस्तो देखिने धुलो (६.८०० ग्राम) चिजवस्तु फेला पारेका छौं,’ प्रहरी कार्यालयद्वारा प्रेषित विज्ञप्तिले लेखिएको छ, ‘गाडीमा सवार १ जना यात्रु, गाडी चालक, सहचालक र फोर्स गाडी समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

गाडी चालक भेरीगंगा नगरपालिका–१ का सन्देश कसेरा, वीननपा–९ लाटिकोईलीका सहचालक विनोद गुरुङ र सोही स्थानका दिनेश खड्का प्रहरीको नियन्त्रणमा रहेका छन् ।

खेर गयो मेलम्चीमा सीएमसीले छाडेको निर्माण सामग्री

मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सीएमसीले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो ।

निर्माण कम्पनीले काम गर्न छाडेर जाँदा निर्माणस्थलमा गिट्टी, बालुवा, डण्डीलगायतका निर्माण सामग्री थिए । तीमध्ये गिट्टी र बालुवा प्रयोगमा आए पनि अरु प्रयोगमा ल्याउने अवस्था नरहेको आयोजनाले जनाएको छ । लामो समयसम्म खुला राखिएकाले ठूलो परिमाणमा सिमेन्ट प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए ।

झण्डै रु ७० लाख रकम बराबरको सिमेन्ट बिग्रिएको उनले बताए । उनले भने, 'अहिलेसम्म निर्माणस्थलमै रहेको सिमेन्टलाई व्यवस्थापन गरिनेछ ।'

यहाँ रहेका फलामका डण्डीमा खिया लागेको छ । यहाँ रहेका डण्डी सिमेन्ट पूरै काम नलाग्ने अवस्थामा पुगिसकेको छैन । विभिन्न किसिमका अस्थायी संरचनामा मात्रै डण्डी प्रयोग गर्न सकिने वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । निर्माणस्थलमा अहिले झण्डै रु ९० लाख बराबरको डण्डी रहेको छ ।

उनले भने, 'डण्डी एकडेढ वर्षसम्म उसै रहेकाले खिया लागिसकेको छ ।' यहाँ रहेको बालुवा र गिट्टी भने प्रयोगमा आइरहेको छ । आयोजनाले अहिले निर्माण गरिरहेको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई बिक्री गरिरहेको छ । 
 त्यहाँबाट आएको रकम सम्बन्धित आपूर्तिकर्तालाई नै दिइएको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । निर्माणस्थलमा एक हजार गाडी बालुवा र गिटी रहेको पाइएको छ । 

एकातिर यहाँ रहेका निर्माण सामग्री खेर गएका छन् भने अर्कातिर सरकारले यी निर्माण सामग्री खरिदबापत सीएमसीले दिन बाँकी भुक्तानी दिन बाँकी छ । खानेपानी मन्त्रालयका सहसचिवको संयोजकत्वमा रकम भुक्तानीका लागि आवश्यक तयारी गर्न प्राविधिक समिति बनाइएको छ । आयोजनामा काम गरेका कामदारलाई ज्यालाबापत दिनुपर्ने रकम दिइसकिएको छ भने सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी बाँकी छ ।   

सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सीएमसीले भुक्तानी गर्न बाँकी रहेको रकम सम्बन्धी माग दाबी भएका आधारमा समितिले आवश्यक अध्ययन गरिरहेको छ । मजदूरलाई ज्यालाबापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । 

भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ–छैन भनी जाँच भइरहेको छ । सीएमसीले आयोजना अलपत्र छाडेर गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताए ।

लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरबका आयोजनामा पर्ने यो आयोजनामा रहेका समस्या हल गर्दै असारसम्ममा मेलम्चीको पानी काठमाडौं झार्ने गरी तयारी भइरहेको छ । मन्त्रालयले असारभित्रमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी गत २ गते श्वेतपत्र जारी गरेको थियो ।

खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेका थिए । पन्ध्र महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत असोजमा सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । कम्पनीसँग गत असोज १२ मा सुरुङ निर्माणका लागि र  असोज २४ मा हेडबक्स निर्माणको सम्झौता भएको थियो । 

मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ८९ दशमलव सात प्रतिशत रहेको छ । आयोजनाका १४ गेटमध्ये नौ वटा सम्पन्न भइसकेका छन् भने मुख्य सुरुङ्गको अन्तिम काम (फिनिसिङ) ६० प्रतिशत सकिएको छ । पानी प्रशोधनका लागि दुईवटा प्रशोधन केन्द्र निर्माण गरिएकामा दुबै सम्पन्न भइसकेका छन् ।

यीमध्ये एउटा एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा र अर्को जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा निर्माण भएको हो । 

काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या हल गर्न मेलम्चीको पानी काठमाडौं ल्याउन संस्थागत पहल शुरू भएको दुई दशक भयो । यसबीचमा विभिन्न संस्था यसमा काम गरेर गए । 

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । पाँच महिनाको अन्यौलतापछि गत असोजमा नयाँ कम्पनी काममा लागेको हो । 

अहिलेसम्म निर्माणका काममा नोबेल कोरोना भाइरस 'कोभिड–१९' ले असर नपुर्‍याएको आयोजनाले जनाएको छ । सञ्चिता घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्