
कोरोना भाइरस सङ्क्रमणपछिको दुई महिना अवधिमा भन्सारबाट आयात–निर्यात हुने मालवस्तुमा खासै अन्तर देखिएको छैन ।
विराटनगर भन्सार कार्यालय हुँदै माघ महिनामा निकासी र पैठारी हुने मालवस्तु गत आर्थिक वर्षको यही महिनासम्मको तुलनाकै बराबरी आयात–निर्यात भएको हो ।
माघ महिनापछिका दिनमा चालू आर्थिक वर्षको अघिल्ला महिनाभन्दा राजस्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ । चालू आर्थिक वर्षको असोज महिनापछिको अवधिमा खस्किएको राजस्व अघिल्लो माघ महिनामा सुधार भएको हो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षासम्मको तुलनामा माघ महिनाको राजस्व सङ्कलनमा प्रगति भएको छ । फागुनमा समेत हामी माघकै हाराहारीमा छौँ, भन्सार प्रमुख भण्डारीले भन्नुभयो, पछिल्ला दुई दिनमा होलीका कारण केही प्रभावित हुनुबाहेक सकारात्मक अवस्थामा छौँ ।
विराटनगर भन्सारको असोजदेखि पुस महिनासम्म घटेको राजस्व सङ्कलनको माघमा सुधार हुँदै लक्ष्यको ७६ प्रतिशत पुगेको थियो । माघमा दुई अर्ब ८२ करोड रुपियाँ राजस्व सङ्कलन भएको हो । माघ महिना १३ अर्ब सात करोड नौ लाख ५७ हजार मूल्य बराबरको सामान आयात भएको थियो । गत आर्थिक वर्षको माघ महिनामा १३ अर्ब छ करोड ७२ लाख ८७ हजार मूल्य बराबरको सामान आयात भएको थियो ।
असोजदेखि पुस महिनासम्म लक्ष्यको ६५ प्रतिशत हाराहारी मात्रै थियो । भन्सारको तथ्याङ्कअनुसार असोजमा ४९, कात्तिकमा ५९, मङ्सिरमा ६२ र पुस महिनामा ५६ प्रतिशत राजस्व सङ्कलन भएको देखिन्छ ।
जतिबेला कोरोनाको हल्ला थिएन, त्यतिबेला भन्दा राजस्व सङ्कलनमा सुधार देखिएको छ, प्रमुख भण्डारीले भन्नुभयो, अहिलेसम्म प्रभाव देखिएको छैन तर आगामी दिनमा पर्नसक्ने आयातकर्ताबाट सुन्ने गरेको छु ।
चालू आर्थिक वर्षको माघ महिनासम्ममा १८ अर्ब २५ करोड ६८ लाख १० हजार रुपियाँ भन्सारले राजस्व सङ्कलन गरेको छ । माघ मसान्तसम्म २९ अर्ब ३६ करोड ७९ लाख असुली लक्ष्य राखेको विराटनगर भन्सारले राखेको थियो । विराटनगर भन्सारको कुल राजस्वमा चिनियाँ मालवस्तु आयात गर्दा झण्डै पाँच प्रतिशतले घटेको देखिन्छ ।
गत आर्थिक वर्षको माघ महिनासम्ममा कुल राजस्वको १६.३६ प्रतिशत चीनबाट आयात हुने सामानले राजस्वमा योगदान गरेको थियो तर चालू आर्थिक वर्षमा भने ११.२८ प्रतिशत मात्रै योगदान रहेको सूचना अधिकृत गोपी उप्रेतीले जानकारी दिए।
चालू आर्थिक वर्षमा आठ अर्ब ५५ करोड रुपियाँ बराबरको सामान चीनबाट विराटनगर भन्सार हुँदै पैठारी भएको छ । गत आर्थिक वर्षमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको सामान आयात भएको थियो ।
समग्र वस्तुको आयातमा देखिएको गिरावटकै आधारमा चीनबाट आयातित सामान पनि घटेको मान्नुपर्ने हुन्छ, सूचना अधिकृत उप्रेतीले भन्नुभयो, चीनबाट गार्मेन्ट, खेलौना, जुत्ताचप्पल, स्याउ र किचनका सामाग्री बढी भित्रिने गरेकामा चालू आर्थिक वर्षमा घटेको छ ।
कोरोना सङ्क्रमणपछिको यो अवधिसम्म चीनबाट आयात हुने सामानमा प्रभाव नदेखिए पनि यसपछिका दिनमा सामान ठप्प हुने आयातकर्ता सुमनविक्रम कार्कीको भनाइ छ । उहाँका अनुसार बाटोमा रहेका सबै सामान नेपाल भित्रिसकेका छन् । पछिल्लो एक महिनादेखि कुनै पनि सामान खरिदका लागि नेपाली आयातकर्ताले डिलिङ गर्न पाएका छैनन् । गोरखापत्र दैनिकमा खबर छ ।