
काठमाडौं, ६ चैत –चालू आर्थिक वर्ष (आव) २०७३/०७४ मा राजश्व संकलन उत्साहजनक देखिएको छ ।
सरकारले चालू आवको चैत महिनासम्ममा रु. १ खर्व ७२ अर्व १७ करोड ४ लाख ५९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
यो राजश्व संकलन गत आवको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढी हो ।
सरकारले चालू आवको यो अवधिमा १ खर्व ६५ अर्व १६ करोड ४ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चैतसम्ममा संकलित यो राजश्व सरकारले लिएको लक्ष्यभन्दा करीव ७ अर्ब १ करोडले बढी हो ।
शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ ९५ अर्व ३९ करोड ५६ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ४३ अर्व ५ करोड ४६ लाख रुपैयाँ र अन्तःशुल्क तर्फ ३२ अर्व ३६ करोड ४५ लाख ७६ हजार रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, चालू आवमा शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ५९ करोड ४४ लाख ५४ हजार रुपैयाँ र ७६ करोड ११ लाख २८ हजार रुपैयाा संकलन भएको छ ।
गत वर्षको तुलनामा आयकर वृद्धिदर ३२ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २६ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३९ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ ।