
भारतको मध्य प्रदेशमा विगत केही दिनदेखि राजनीतिक दाउपेच चलिरहेको छ । त्यसैक्रममा कांग्रेस महासचिव ज्योतिरादित्य सिन्धियाले मंगलवार पार्टी छोडेका छन् ।
सिन्धियाले सोमवार दिएको राजीनामा मंगलवार सार्वजनिक गरेका छन् ।
सिन्धियाको राजीनामासँगै मध्य प्रदेशमा कमलनाथ सरकार अप्ठ्यारोमा परेको छ ।
सिन्धियाले भाजपामा प्रवेश गर्ने अनि उनको खेमामा रहेका विधायकले पनि कांग्रेस छोड्न सक्ने अनुमान गरिएको छ ।
सिन्धियाले राजीनामामा लेखे, ‘मेरो जीवनको उद्देश्य नै राज्य र देशका मानिसको सेवा गर्नु हो । तर कांग्रेसमा बसेर म त्यो काम गर्न पाइरहेको छैन ।’
आफूले आमजनता र कार्यकर्ताको आकांक्षा पूरा गर्नका लागि नयाँ शुरूआत गर्नु ठीक ठानेको उनको भनाइ छ ।
उता कांग्रेस पार्टीले चाहिँ ज्योतिरादित्य सिन्धियालाई पार्टीबाट निकालिएको जनाएको छ ।
पार्टी महासचिव केसी वेणुगोपालले एक बयान जारी गरेर पार्टीविरोधी गतिविधिका कारण सिन्धियालाई पार्टीबाट निकाल्न अध्यक्ष सोनिया गान्धीले स्वीकृति दिएको बताए ।
मंगलवार बिहान प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई भेटेपछि ज्योतिरादित्य सिन्धियाले कांग्रेस पार्टी छोड्ने कुरा पक्का गरेका हुन् ।
आफूलाई कमलनाथले बेवास्ता गरेको जस्तो लागेकाले सिन्धिया लामो समयदेखि पार्टीसँग असन्तुष्ट थिए ।