
साविक उपविजेता त्रिभुवन आर्मी क्लब १८ औं आहा रारा गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्दै उपाधि दौड शुरू गरेको छ ।
पोखरा रंगशालामा मंगलवार भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबको चुनौती ३–० को फराकिलो गोलअन्तरले पन्छाउँदै लिग उपविजेता समेत आर्मी अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
आर्मीको जितका लागि सुदील राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले गोलको योगदान दिए ।
५ जना राष्ट्रिय खेलाडीले सुसज्जित आर्मीले उच्च मनोबल साथ खेल प्रदर्शन गर्यो । विभागीय आर्मी आहारारा गोल्डकपमा ४ पटक फाइनल पुगेर पनि उपाधि वञ्चित छ ।
पहिलो हाफमा सुदीलको गोलबाट अग्रता लिएको आर्मीले दोस्रो हाफमा २ गोल थप्दै जित सुनिश्चित गर्न सफल भयो ।
खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठको क्रस सदुपयोग गर्दै सुदीलले बललाई गोलपोस्टको दिशा दिएका हुन् । दोस्रो हाफको मध्यसम्म खेल बराबरी ल्याउने प्रयास गरे पनि संकटामाथि पुनः गोल थपिएपछि उसको लागि संकट देखापर्यो ।
निस्केको कर्नर बल ढुलमुल अवस्थामा राष्ट्रिय खेलाडी नवयुगले खेलको ७१ औं मिनेटमा गोल गर्दै गोलअन्तर दोब्बर पारे ।
सुदीलको स्थानमा मैदान छिरेका विवेक बस्नेतले खेलको ७५ औ मिनेटमा अर्को गोल थपे । डी–बक्स एरियामा रहेका विवेकले गरेको कडा प्रहार विपक्षी कीपर राजाबाबु थापाको हातबाट फ्लीक हुन पुगेको थियो ।
खेलमा म्यान अफ दी म्याच नवयुग श्रेष्ठ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाउन सफल भए ।
जीतपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो हाफ सोचेजस्तो नभए पनि दोस्रो हाफमा सहज रुपमा गोल निस्कन सफल भएको प्रतिक्रिया दिए ।
यता, संकटाका प्रशिक्षक सल्यान खड्कीले आफ्नो मिसले पहिलो गोल हुनु नै दुर्भाग्य भएको बताए । उनले पाएका केही राम्रा अवसर सदुपयोग हुन नसक्दा पराजित हुनुपरेको स्वीकारे ।
सिधैं क्वाटरफाइनल खेलेको आर्मीले यो जितसँगै फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ । मनाङले यसअघि झापा–११ लाई हराउँदै अन्तिम चारमा आफूलाई सुरक्षित पारिसकेको हो ।
यता, बुधबार हुने पहिलो सेमिफाइनल खेलमा डिफेण्डिङ् च्याम्पियन रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
थ्रीस्टारले पाहुना टोली गान्तोक सिटी क्लबलाई र पुलिसले आयोजक सहारा क्लबलाई पराउँदै गर्दै विजयी यात्रा जारी राखेका हुन् ।