१० साउन २०८३, आइतबार

आर्मी आहा राराको सेमिफाइनलमा

फागुन २७, २०७६
आर्मी आहा राराको सेमिफाइनलमा

साविक उपविजेता त्रिभुवन आर्मी क्लब १८ औं आहा रारा गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्दै उपाधि दौड शुरू गरेको छ । 

पोखरा रंगशालामा मंगलवार भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबको चुनौती ३–० को फराकिलो गोलअन्तरले पन्छाउँदै लिग उपविजेता समेत आर्मी अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

आर्मीको जितका लागि सुदील राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले गोलको योगदान दिए ।

५ जना राष्ट्रिय खेलाडीले सुसज्जित आर्मीले उच्च मनोबल साथ खेल प्रदर्शन गर्‍यो । विभागीय आर्मी आहारारा गोल्डकपमा ४ पटक फाइनल पुगेर पनि उपाधि वञ्चित छ । 

पहिलो हाफमा सुदीलको गोलबाट अग्रता लिएको आर्मीले दोस्रो हाफमा २ गोल थप्दै जित सुनिश्चित गर्न सफल भयो । 

खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठको क्रस सदुपयोग गर्दै सुदीलले बललाई गोलपोस्टको दिशा दिएका हुन् । दोस्रो हाफको मध्यसम्म खेल बराबरी ल्याउने प्रयास गरे पनि संकटामाथि पुनः गोल थपिएपछि उसको लागि संकट देखापर्‍यो । 

निस्केको कर्नर बल ढुलमुल अवस्थामा राष्ट्रिय खेलाडी नवयुगले खेलको ७१ औं मिनेटमा गोल गर्दै गोलअन्तर दोब्बर पारे । 

सुदीलको स्थानमा मैदान छिरेका विवेक बस्नेतले खेलको ७५ औ मिनेटमा अर्को गोल थपे । डी–बक्स एरियामा रहेका विवेकले गरेको कडा प्रहार विपक्षी कीपर राजाबाबु थापाको हातबाट फ्लीक हुन पुगेको थियो । 

खेलमा म्यान अफ दी म्याच नवयुग श्रेष्ठ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाउन सफल भए । 

जीतपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो हाफ सोचेजस्तो नभए पनि दोस्रो हाफमा सहज रुपमा गोल निस्कन सफल भएको प्रतिक्रिया दिए । 

यता, संकटाका प्रशिक्षक सल्यान खड्कीले आफ्नो मिसले पहिलो गोल हुनु नै दुर्भाग्य भएको बताए । उनले पाएका केही राम्रा अवसर सदुपयोग हुन नसक्दा पराजित हुनुपरेको स्वीकारे ।

सिधैं क्वाटरफाइनल खेलेको आर्मीले यो जितसँगै फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी  क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ । मनाङले यसअघि झापा–११ लाई हराउँदै अन्तिम चारमा आफूलाई सुरक्षित पारिसकेको हो ।

यता, बुधबार हुने पहिलो सेमिफाइनल खेलमा डिफेण्डिङ् च्याम्पियन रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । 

थ्रीस्टारले पाहुना टोली गान्तोक सिटी क्लबलाई र पुलिसले आयोजक सहारा क्लबलाई पराउँदै गर्दै विजयी यात्रा जारी राखेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्