
प्रधानमन्त्री ओली छिट्टै बालुवाटार फर्कने
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उनको मिर्गौला प्रत्यारोपण गरिएको सातौँ दिन मंगलवार त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै उहाँलाई केही दिनपछि निवास फर्काइने जानकारी दिए ।
अस्पतालमा मिर्गौला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्रा डा खड्गाले चिकित्सीय हिसाबले उनी आजै घर फर्कन सक्ने भए पनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताए ।
अङ्गदाता समीक्षा सङ्ग्रौलाको स्वास्थस्थिति राम्रो भएको र उनलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने जनाइएको छ । त्रिवि चिकित्साशास्त्र सङ्कायका डीन प्रा डा जगदीश अग्रवालले मुलुकका प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण मुलुककै अस्पतालमा हुनु गौरवको विषय भएको बताउँदै यसबाट चिकित्सकहरुको आत्मविश्वास बढेको बताए ।
उनले प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणपछि अस्पतालमा अङ्ग प्रत्यारोपण गर्नेको सङ्ख्या बढ्न सक्ने हुनाले सरकारले यसको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने दिए ।
प्रधानमन्त्री पूरै सक्रिय हुन ६ महिनादेखि वर्षदिन लाग्न सक्छ : दिव्यासिंह शाह
प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई सामान्य जनजीवन बिताउन ६ महिनादेखि वर्षदिनसम्म लाग्ने बताएकी छन् ।
मंगलवार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहले मिर्गौला पुनः प्रत्यारोपणको पहिलो महिना औषधिको डोज बढी हुने हुनाले विशेष ख्याल राख्न जरुरी भएको र ६ महिनापछि मात्र सामान्य मान्छे जसरी जीवन बिताउन सक्ने बताएकी हुन् ।
‘औषधिको डोज बढी भएकाले संक्रमणको सम्भावना बढी रहन्छ,’ शाहले भनिन्, ’उहाँलाई र परिवारलाई मिर्गौला सम्बन्धी ज्ञान भएकाले त्यति संकट नआउला । मेरो विचारमा ६ महिना वर्ष दिनसम्म एक्टिभ, ओरिजिनल र साधारण मान्छे जसरी जीवन बिताउन सक्नुहुनेछ ।’
शाहले प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान आफूले सल्लाह नदिने बताइन् । ‘भीडभाडमा जान हामी सल्लाह दिँदैनौं,’ उनले भनिन्, ‘आफ्नो सचिवालयबाट नियमित काम गर्न सक्नुहुन्छ । अन्य व्यक्तिसँग अलिकति सम्मानित दूरीमा रहेर काम गर्न सक्नुहुन्छ ।’
अघिल्लो हप्ता सोमवार अस्पताल भर्ना भएका ओलीको बुधवार शल्यक्रिया गरिएको थियो ।
नेपाल वायुसेवा निगमले स्थगित गर्यो कतार उडान
नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ ।
कतार सरकारले केही दिनअघि नेपालसहित १४ देशका नागरिकलाई प्रतिबन्ध लगाएपछि नियमित कतार उडान गर्ने गरेको निगमले कतार उडान स्थगित गरेको हो ।
निगमले उडान स्थगित गर्नुपर्ने कारणसहित भनेको छ, 'कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनिकरण गर्न विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएको र ती १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीहरू पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई स्थगित गर्नु परेको हो ।'
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ जना चिनियाँ कामदार क्वारेन्टाइनमा
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ जना चिनियाँ कामदारलाई क्वारेन्टाइनमा राखिएको छ ।
कोरोना भाइरस (कोभिड– १९) संक्रमणको पूर्व सचेतनाका लागि उनीहरूलाई विमानस्थलमै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको विमानस्थल आयोजना प्रमुख विनेशकुमार मुनकर्मीले जानकारी दिए ।
चीनमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेर गत फागुन २१ देखि २३ सम्म आएका उनीहरूलाई अबको १० दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरू आएको ४ दिन भइसकेको छ ।
यात्राका क्रममा कहीँ कतै संक्रमित भएको हुनसक्ने आशंकामा उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।
क्वारेन्टाइनमा बसेकाहरूको ज्वरो दैनिक ३ पटकसम्म नापिने र १ सय दशमलव ४ डिग्रीभन्दा बढी ज्वरो आएको देखिएमा अस्पताल लगिने विमानस्थल आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख मुनकर्मीका अनुसार हालसम्म कसैलाई पनि उच्च ज्वरो देखिएको छैन ।
यसअघि आएकामध्ये ३६ जना चिनियाँ नागरिक क्वारेन्टाइनमा बसेर संक्रमण नभएको पाइएपछि काममा फर्किसकेका छन् ।
उनीहरू चिनियाँ नयाँ वर्ष मनाउन चीन गएका थिए । त्यसैक्रममा चीनमा कोरोना संक्रमण फैलिएपछि क्वारेन्टाइनमा बसेर नेपाल फर्किएका हुन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करीब ५५ प्रतिशत सम्पन्न भइसकेको छ । विमानस्थलको सडक, ड्रेन, पार्किङ लगायतको काम अहिले जारी छ ।
विमानस्थल निर्माणमा १ सय ९० जना चिनियाँ र २ सय ८० जना नेपाली कामदार कार्यरत छन् ।
कोरोना भाइरसका कारण केही आवश्यक सामग्री भित्र्याउन ठाउँ–ठाउँमा क्वारेन्टाइनमा बस्नुपर्ने समस्याका कारण असहज भएकाले विदेश सिधै विमानमार्फत ल्याउने तयारी गरिएको आयोजनाले जनाएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि पोखरामा पूर्व तयारीस्वरूप हाल यस क्षेत्रका विभिन्न अस्पतालमा गरी ८० वटा आइसोलेसन बेड तयार पारिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कोरोना भाइरस रोकथाम र नियन्त्रण प्रदेशस्तरीय निर्देशन समिति संयोजक पृथ्वीसुब्बा गुरुङले यस क्षेत्रका अस्पतालमा कम्तीमा ५ चिकित्सकसहित ५ बेड तयार राख्न निर्देशन समेत दिइसकेका छन् ।
गृहमन्त्रीका भाइ नरेशले गरे जेलमा आत्मसमर्पण
अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपनि फरार रहेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन्।
उच्च अदालत, पाटनले गत माघमा उनलाईृ पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि फरार रहेका थापाले सोमबार कारागारमा आत्मसमर्पण गरेका हुन्।
उनी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याकाण्डमा मुछिएका थिए।
हत्याका मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग नरेशको फोन सम्पर्क र भेटघाट भएको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो।
अनुसन्धानबाट खुलेको थियो कि, नरेश नगरकोटी र पवन खड्कासँग समेत नरेशको भेटघाट र सम्पर्क देखिएको थियो।
त्यसपछि प्रहरीले नरेशविरुद्ध अदालतमा मुद्दा दर्ता गरेपनि जिल्ला अदालत, काठमाडौंले १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर उच्च अदालत, पाटनले जिल्ला अदालतको आदेश उल्ट्याइदिएको थियो।
सभामुखसँगको भेटमा भारतीय राजदूतले भने– समस्याहरू छलफलबाट समाधान गर्न सकिन्छ
सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहान क्वात्राले मंगलवार शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत क्वात्राले सापकोटालाई बधाई ज्ञापन गर्दै नयाँ कार्याकालको शुभकामना व्यक्त गरे ।
भेटमा सभामुख सापकोटाले भारत नेपालको असल छिमेकी भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध प्राकृतिक भएको बताए ।
दुई देशबीच कूटनैतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष पूरा भएको स्मरण गर्दै सभामुख सापकोटाले नेपाल र भारतबीच सरकार, संसद् र जनस्तरसम्म सम्बन्ध रहेको बताए ।
नेपालमा २०७२ साल वैशाखमा विनाशकारी भूकम्पपछि उद्दार, राहत एवं पुनःनिर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले दुई देशबीच पछिल्लो समय दूरगामी महत्त्वका सम्झौता भएकोमा खुशी व्यक्त गरे ।
साथै, दुई देशबीच केही छलफल गर्नुपर्ने विषय रहेको बताउँदै सभामुख सापकोटाले दुवै देशमा बलियो र स्थायी सरकार रहेकाले सम्बन्ध विस्तारका लागि बिरलै प्राप्त हुने अवसर रहेको चर्चा गरे ।
भारतीय राजदूत क्वात्राले दुई देशबीच व्यापक र गहिरो सम्बन्ध रहेको बताउँदै सभामुख साकोटाको कार्याकालमा यो सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे ।
उनले शान्ति, विकास र समृद्धि नेपाल–भारत सम्बन्धमा गहिरो स्तम्भ भएको बताउँदै छलफलका माध्यमबाट दुई देशबीचका समस्या समाधान गर्न सकिने उल्लेख गरे ।
कोरोनासँग लड्न तयार रहनुपर्ने भन्दै युवा संघको सरकारलाई ध्यानाकर्षण
राष्ट्रिय युवा संघ नेपालले कोरोना भनिने कोभिड १९ सँग लड्न सरकारले गरेको तयारीका सन्दर्भमा पूर्वसचेतनाका लागि सरकारलाई ध्यानाकर्षण गराएको छ ।
मंगलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा'ले कोरोनाको त्रास तथा तयारीका कामहरूबारे नागरिक तह र कतिपय स्वास्थ्यकर्मीहरूले राखिरहेको चासोप्रति मन्त्रालय तथा सरकारमाथि पूर्वसचेतनाका लागि ध्यानाकर्षण गरिएको बताए ।
ध्यानाकर्षण पत्रमा उपत्याका र देशका प्रमुख शहरहरूमा आइसोलेसन सहितको अस्थायी कोरोना फोकल अस्पताल बनाउनुपर्ने, प्रहरी तथा सैनिक अस्पतालका बिरामीहरूलाई अन्यत्र सारेर त्यहाँ कोरोनाका बिरामीहरू राख्ने गरी तयार रहनुपर्ने लगायतका सुझावहरू समेत दिइएको छ ।
सरकारले भन्यो– कोरोनाको आशंकामा क्वारेन्टाइनमा राख्न सकिन्न, घरमै 'सेल्फ क्वारेन्टाइन'मा बस्नुस्
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको आशंका लागेमा सरकारले क्वारेन्टाइनमा नराख्ने र नागरिकहरू आफैं 'सेल्फ क्वारेन्टाइन'मा बस्नुपर्ने बताएका छन् ।
मन्त्रालयमा मंगलवार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले क्वारेन्टाइन भन्नेबित्तिकै सबै कुरा सरकारले व्यवस्था गर्छ भन्ने नबुझ्न आग्रह गरे ।
'क्यारेन्टाइन भन्नेबित्तिकै मान्छेहरूले हिजो चीनबाट विद्यार्थी ल्याएजस्तै सरकारले ल्याइदिने, सबै सरकारकै व्यवस्थापनमा बस्ने भन्ने कुरा नगरौं अब सेल्फ क्वारेन्टाइनमा मान्छेहरू बस्नुपर्छ,' मन्त्री ढकालले भने, 'डब्लूएचओको एउटा मापदण्ड छ, त्यो मापदण्डभित्र बस्नुपर्यो ।'
परिवारका सदस्यहरूसँग कस्तो व्यवहार गर्ने र कसरी बस्ने भन्ने कुराको एउटा प्रोटोकल तयार पारेको बताउँदै मन्त्री ढकालले त्यसैअनुसार बस्न आग्रह गरे ।
परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो भने त्यसको जिम्माचाहिँ राज्यले लिने उनको भनाइ थियो ।