
५१ जनाको ज्यान जानेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरको विमान दुर्घटना भएको २ वर्ष पूरा भएको छ ।
२०७४ साल फागुन २८ गते सोमवार दिउँसो १ बजेर ४८ मिनेटको समयमा विमान दुर्घटना भएको थियो ।
६७ यात्रु र चालक दलका ४ सदस्यसहित ७१ जना बोकेर ढाकाबाट काठमाडौं उडेको युएस बंगलाको जहाज दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो ।
नेपालको हवाई इतिहासमा यो ८५औं हवाई दुर्घटना थियो, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको पहिलो ठूलो दुर्घटना । त्यसअघि त्रिभुवन विमानस्थलभित्र भएका दुर्घटनामा कुनै मानवीय क्षति भएको रेकर्ड छैन ।
दुर्घटना जाँचबुझ गर्न यज्ञ गौतमको संयोजकत्वमा गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन २०७५ माघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको थियो ।
प्रतिवेदनमा विमान दुर्घटनाका मुख्य दोषी पाइलट रहेको ठहर गरिएको छ ।
क्याप्टेन अबिद सुल्तानले जहाज ल्याण्ड गर्दा जबरजस्ती गर्न खोजेको तथा मानसिक तनावमा रहेको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनमा पाइलटले ककपिटभित्रै पटक–पटक चुरोट पिएको प्रतिवेदनमा उल्लेख छ ।
छानबिनले जहाजमा कुनै समस्या नभएको देखाएको छ ।
पढ्नुहोस्, सम्बन्धित समाचार :
अझै झस्किन्छन् यूएस बंगला विमान दुर्घटनामा बाँचेका केशव, यसरी सम्झिए त्रासदीपूर्ण त्यो दिन
यूएस बंगला जहाज दुर्घटनाको दोष पाइलटलाई, तनाव दबाउन धूमपान पनि गरेको थिए