राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारदेखि सुरु हुने ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन केन्द्रीय निर्वाचन आयोगले 'निर्वाचन आचारसंहिता २०८३' जारी गरेको छ।
आचारसंहिताले निर्वाचनका क्रममा हुन सक्ने गुटबन्दी र समूहगत प्रतिस्पर्धालाई पूर्ण रूपमा निषेध गरेको छ।
आयोगले सार्वजनिक गरेको नियमावली अनुसार महाधिवेशनमा हुने निर्वाचन पूर्णतः व्यक्तिगत प्रतिस्पर्धामा आधारित हुनेछ। उम्मेदवारहरूले कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार-प्रसार गर्न वा गराउन पाउने छैनन्।
निर्वाचनलाई भड्किलो हुन नदिन भौतिक प्रचार सामग्रीमा समेत कडा सीमा तोकिएको छ, जसअन्तर्गत उम्मेदवारले बढीमा २x२ फिट साइजको एउटा मात्र पोस्टर प्रयोग गर्न पाउनेछन्। महाधिवेशन स्थल र त्यसको आसपासका क्षेत्रमा प्लेकार्ड, ब्यानर, फ्लेक्स र पम्पलेट प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
आचारसंहितामा सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन भनिएको छ। उम्मेदवारले फेसबुक, टिकटक जस्ता माध्यमबाट भ्रामक सूचना सम्प्रेषण गर्न र सशुल्क विज्ञापन गरेर मत माग्न पाउने छैनन्। प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्न खुला गरिए पनि निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले नाराबाजी, जुलुस, शक्ति प्रदर्शन र होहल्ला गर्न पाइने छैन।
पार्टीको जिम्मेवारीमा रहेका बहालवाला पदाधिकारी, मन्त्री तथा सांसदहरूलाई आफ्नो पदीय हैसियत, राजकीय वा दलीय स्रोत र प्रभाव प्रयोग गरी निर्वाचनको निष्पक्षतालाई प्रभावित पार्न निषेध गरिएको छ।
यस्तै, मतदातालाई आर्थिक प्रलोभन देखाउन, उपहार वितरण गर्न, भोजभतेर आयोजना गर्न, पदको आश्वासन दिन वा डर-धम्की देखाउन नपाइने व्यवस्था गरिएको छ। कसैको अपमान हुने गरी वा चरित्रहत्या गर्ने उद्देश्यले टिप्पणी गर्न समेत मनाही गरिएको छ।
आचारसंहिता उल्लंघन भएमा प्रमाणसहित २४ घण्टाभित्र उजुरी दिन सकिने र दोषी ठहरिएमा उम्मेदवारी खारेज हुनुका साथै थप अनुशासनको कारबाही समेत हुन सक्ने आयोगले चेतावनी दिएको छ।
मतदान केन्द्रभित्र मोबाइल फोन, क्यामेरा वा अन्य इलेक्ट्रोनिक उपकरण लैजान र फोटो वा भिडियो खिच्न समेत पूर्ण प्रतिबन्ध लगाइएको छ।
यो आचारसंहिता सम्पूर्ण उम्मेदवार, प्रतिनिधि र सरोकारवालाहरूका लागि अनिवार्य रूपमा बाध्यकारी हुने निर्वाचन आयोगले जनाएको छ।